इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगरपालिकाले लकडाउनबाट प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि दोस्रो चरणको राहत वितरण सुरु गरेको छ । पहिलो चरणको राहतबाट छुटेका नागरिकहरुलाई दोस्रो चरणमा राहत दिएको हो । नगरपालिकाले वडा कार्यालयको समन्वयमा पायक पर्ने स्थानबाट सामाजिक दुरी निर्धारण गरी खाद्यान्न वितरण गरिरहेको छ । वडामा आएका निवेदनको आधारमा जनप्रतिनिधीहरुले राजनैतिक दलहरुसंग समन्वय गरी राहतको लागि सिफारिस गरेको थियो ।
नागरिकहरुलाई वडाका जनप्रतिनिधिहरुले स्थानीय युवा, राजनैतिक दल र प्रहरीसंग समन्वय गरी राहत वितरण गरिरहेका छन् । गत चैत्र ११ गतेबाट जारी लकडाउनका कारण प्रभावित १ हजार ९ सय ५ भन्दा बढी परिवारका ७ हजार ३ सय बढीलाई राहत प्रदान गर्न लागेको नगरपालिकाले जनाएको छ । परिवार संख्याको आधारमा नगरपालिकाले तयार गरेको कार्यविधि अनुसार चामल, दाल, तेल, नुन, साबुन, चनाको प्याकेज बनाएर वितरण गरिरहेको छ ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यका अनुसार १ जना मात्रको परिवारलाई ५ केजी चामल, १ केजी दाल, आधा लिटर तेल, १ केजी नुन, १ वटा साबुन, १ केजी चना, २ देखि ४ जनाको परिवारलाई २० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन, २ वटा साबुन, २ केजी चना र ५ जनाभन्दा माथिको परिवारलाई २५ केजी चामल, ३ केजी दाल, साढे १ लिटर तेल, २ केजी नुन, ३ वटा साबुन, ३ केजी चना वितरण भैरहेको बताए । उनले वडा कार्यालयले पायक पर्ने स्थानहरु बाट राहत वितरण भैरहेको बताए ।
सोमबारबाट सुरु भएको राहत अन्तर्गत मंगलबार सम्ममा वडा १, २, ४, ५, ६, ७ र ८ मा वितरण भैरहेको छ । वडा ३, ९ र १० ले भने बुधबारबाट राहत वितरण गर्ने जनाएको छ । रामपुर नगरपालिका वडा १ का वडा अध्यक्ष मित्रलाल कंडेलका अनुसार १ सय २८ परिवारलाई ४ स्थान बाट राहत वितरण गरिएको छ । वडा २ मा पनि ९० परिवारलाई मंगलबार नै वितरण गरिएको वडा अध्यक्ष ताराबहादुर थापाले जानकारी दिए । वडा ४ ले पनि देविस्थान र गाउँपोखराबाट १ सय ९५ जना राहत वितरण गरिएको वडा अध्यक्ष एक बहादुर नेपालीले बताए ।
वडा ५ को ३ सय ८५ परिवार मध्ये मंगलबार सम्ममा बेझाँड बाट २ सय ६५ परिवारले राहत बुझेको र १ सय २० ले बुझ्न बाँकी रहेको वडा अध्यक्ष हिमाल मल्ले बताए । वडा ६ ले पनि २ सय ८४ परिवारलाई दरैठाँटी मावि र नवदुर्गा माविबाट राहत वितरण सम्पन्न गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताए । वडा ७ मा पनि मंगलबार सम्ममा १ सय ७९ परिवार मध्ये १ सय ७३ जनाले किसानबारी बाटै राहत बुझेको वडम अध्यक्ष तिर्थप्रसाद पंगेनीले बताए । वडा ८ मा पनि १ सय ९२ बढी परिवार मध्ये ८२ जनाले आँपचौरबाट राहत बुझेको र बाँकी अन्यलाई पनि सोही स्थानबाट वितरण गरिने वडा ८ का वडा सदस्य एवं कार्यपालिका सदस्य गीता क्षेत्रीले बताइन् ।
वडा ३ का १ सय ५७ परिवार, वडा ९ का १ सय ५५ परिवार र वडा १० का १ सय ४० परिवारलाई बुधबार राहत वितरण गरिने रामपुर नगरपालिकाका योजना अधिकृत कपिलबहादुर खाँणले जानकारी दिए । राहत वितरण कार्यको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको संयोजकत्वमा गठित प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रशासनका प्रमुख, इलाका प्रहरीका प्रमुख, योजना अधिकृत र पत्रकार सहितको अनुगमन समितिले अनुगमन गरिरहेको छ । उपप्रमुख घिमिरेले सबै वडाहरुमा सामाजिक दुरी कायम गरी तोकिएको मापदण्डको खाद्यान्न वितरण भैरहेको पाईएको बताइन् । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले लकडाउन कहिलेसम्म रहने निश्चित नभएको भन्दै सरकारको निर्देशन र आवश्यकता अनुसार अघि बढ्ने बताए ।