रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको कालीगण्डकी गाउँपालिकाले खाद्यान्न बैंक स्थापना गर्ने भएको छ । गाउँपालिका भित्र खाद्यान्न अभाव नहोस् भनेर खाद्यान्न बैंक स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन लम्बिदै जाँदा गाँउपालिकाभित्र खाद्यान्न अभाव हुन सक्ने र पैसा भएर पनि नागरिकहरु भोकै बस्नुपर्ने अवस्था आउन सक्ने भएकाले गाँउपालिकाले खाद्यान्न बैंक स्थापना गर्न लागेको बताईएको छ ।
गाउँपालिका अध्यक्ष थापाले कालिगण्डकी गाँउपालिका सदैव गाँउपालिकाबासीको साथमा रहेकाले कोही पनि भोकै बस्नुपर्ने र स्वास्थ्य उपचारबाट बञ्चित हुने अवस्था आउन नदिने बताए । खाद्यान्न अभाव र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरुन्त सम्बन्धित वडाका जनप्रतिनिधि तथा स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अध्यक्ष थापाले आग्रह गरे ।