Shittalpati
लकडाउनका बिच तातोपानी धाममा सम्पन्न महायज्ञको खर्च सार्वजनिक

इमान सिं राना
पाल्पा (रामपुर) । गौशालाको दिगो सञ्चालन सहयोगार्थ रामपुर ६ तातोपानी धाममा गत फागुन १२ देखि २० गते सम्म भएको श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ । गत चैत्र १२ गते खर्च सार्वजनिक गर्ने भनिए पनि लकडाउनका कारण रोकिएको आम्दानी तथा खर्च सार्वजनीक कार्यक्रम शनिबार रामपुर ६ मिलनटोलमा सार्वजनिक गरिएको हो ।

श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिले क्रियाशिल राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधि र पत्रकारहरुको उपस्थितिमा सामाजिक दुरीलाई ख्याल गर्दै खर्च सार्वजनिक गरेको हो । खर्च विवरण सार्वजनिक गर्दै मूल आयोजक समितिका कोषाध्यक्ष चण्डी प्रसाद खनालले महायज्ञमा नगद ३४ लाख २ हजार ७ सय २४ रुपैयाँ र अन्य भूमीदान गरी १ करोड ४९ लाख २३ हजार ६ सय ७८ रुपैयाँ आम्दानी भएकोमा २८ लाख ७१ हजार ८ सय ५७ रुपैयाँ खर्च भएको जानकारी दिए । खनालले प्रचार-प्रसारमा ३ लाख १९ हजार ६ सय ४१, भिडियो ग्राफीमा १ लाख ४० हजार ७ सय, पञ्चेबाजा समूहको लागि ५० हजार, यातायात व्यवस्थापनमा ५८ हजार ७ सय ४५, औषधी उपचारमा ४ सय २०, स्टेशनरीमा १० हजार ३०, पराल खरिदमा ४० हजार, टेण्ट पण्डाल खर्च ६ लाख ८० हजार, डिजल र पेट्रोल १२ हजार ८ सय ७५, हार्डवयर सामग्रीमा ८७ हजार ८ सय १९, प्रमाण पत्र तथा फ्रेम खरिदमा ३ लाख ६७ ५ सय ९८, खाद्यान्न खरिदमा १ लाख ७५ हजार ६ सय ७०, पुजन सामग्री खरिदमा ३ लाख ५९ हजार ५२, गौ पहिचान ट्यागमा ३० हजार, मूल पण्डित तथा अन्य पण्डित दान तथा विदाईमा ५ लाख ३९ हजार ३ सय ७ खर्च भएको बताए ।

आम्दानी मध्ये यज्ञबाट ३२ लाख ४९ हजार ३ सय ६९, कलश विक्रीबाट २० हजार २ सय, दान पेटिकाबाट १ लाख ३३ हजार १ सय ५५ गरी जम्मा ३४ लाख २ हजार ७ सय २४ नगद जम्मा भएको थियो । त्यस्तै भूमी दानबाट ६१ लाख ४३ हजार १ सय ६३, नगद घोषणाबाट २२ लाख ४४ हजार ३ सय ८, रामपुर नगरपालिकाबाट २५ लाख, रामपुर नगरपालिका वडा ६ बा ५ लाख ५५ हजार ५ सय ५५ आउन बाँकी रहेको खनालले बताए । खर्च सार्वजनिक कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराईले गाई व्यवस्थापनको लागि महायज्ञले केही राहत दिए पनि यसले मात्र सम्भव नहुने भएकाले सबैको क्षेत्रको सहयोग खाँचो रहेको बताए ।

त्यस्तै सचिवालय समितिका सदस्य एवं दानदाता सागर प्रसाद देवकोटाले दाताहरुको जिज्ञासा मेटाउन समितिले गरेको प्रयासको प्रशंसा गरे । मूल आयोजक समितिका संयोजक एवं रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले यज्ञ सञ्चलनको क्रममा सहयोग गर्ने व्यक्ति तथा संस्था सबैलाई धन्यवाद दिदै सबैको सहयोगले यज्ञ सफल भएको बताए । उनले समय मै खर्च सार्वजनिक गर्ने तयारी भए पनि लकडाउनका कारण ढिलो भएको भन्दै गौशाला सञ्चालनको लागि आगामी दिनमा सबैको सहयोग र सुझावको आवश्यकता रहेको बताए । मूल आयोजक समितिका सचिव बासुदेव ढकालले स्थानीय सबैलाई सहभागी गराई वृहत रुपमा खर्च सार्वजनिक गर्न वर्तमान परिस्थितिमा समस्या रहेको भन्दै सञ्चारकर्मीहरुको उपस्थितिमा खर्च विवरण सार्वजनिक गरिएको बताए । उनले जिज्ञासा भएमा सचिवालयमा आएर बुझ्न सकिने बताए । मूल आयोजक समितिका संयोजक हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद प्रचार-प्रसार समितिका सहसंयोजक सिर्जना घिमिरेले ज्ञापन गरेकी थिईन् । मूल आयोजक समितिका सचिव बासुदेव ढकालले गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update