पाल्पा । जिल्लाको रैनादेवी छहरामा कोरोना राहत कोषमा सहयोग जुट्ने क्रम बढ्दै गएको छ । पश्चिम भेगमा रहेको भैरव नवदिप माध्यमिक विद्यालयले शिक्षकहरुबाट संकलित रकम गाउँपालिकाको राहत कोषमा सहयोग गरेको छ । विद्यालयले राहत कोषमा नगद २५ हजार सहयोग गरेको हो ।
विश्वमा महामारीको रुपमा देखा परेको कोरोना रोगका कारण नेपाल सरकारले जारी राखेको लकडाउनले दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने वर्गहरुका केही राहत पुगोस् भन्ने उद्देश्यले विद्यालयले साधारण तथा प्राविधिकतर्फका शिक्षकहरुको एक दिनको तलब बराबरको रकम गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीलाई हस्तान्तरण गरेको छ । विद्यालयका प्रअ झलकबहादुर रायमाझीले उक्त रकम अध्यक्ष कार्कीलाई प्रदान गरेका हुन् । रकम हस्तान्तरण गर्दै प्रअ रायमाझीले विश्व नै संकटकामा परेको बेला गाउँपालिका भित्रका विपन्न गरिव र दैनिक ज्याला मजदुरी गरेर खानेहरुका लागि आफुहरुले प्रदान गरेको रकमले सहयोग केही भएपनि राहत पुग्ने विश्वास व्यक्त गरे । रकम ग्रहण गर्दै अध्यक्ष कार्कीले विद्यालयले देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै विद्यालय र सम्पूर्ण शिक्षक/शिक्षिकाहरुलाई धन्यवाद दिए ।