Shittalpati
पाल्पाका शिवालय मन्दिरमा दर्शनार्थीको भिड

पाल्पा, साउन महिनाको हरेक सोमबार देशभरका शिवालय मन्दिरमा दर्शनार्थीको घुुइँचो लाग्ने गरेको छ । तेस्रो सोमबार पनि हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरेका छन् । साउने सोमबारको अवसरमा हजारौं भक्तजनले सिद्धबाबा मन्दिर लगायत पाल्पाका विभिन्न शिवालयमा पूजा आराधना गर्दै आएका छन् ।

साउनको पहिलो र दोस्रो सोमबार भिडभाड रहेको पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा तेस्रो सोमबार पनि घुँइचो नै देखिन्थ्यो । पाल्पा र रुपन्देहीको सीमा क्षेत्रमा पर्ने भएकाले रुपन्देहीका दर्शनार्थीहरूको बढी भीड लाग्ने गर्छ । मन्दिरमा दर्शन गर्न र पूजा गर्नका लागि बिहान ३ बजेदेखि नै दर्शनार्थीहरू लाइन लागेर बसेका थिए । लाइनमा लागेका दर्शनार्थीहरूलाई पालैपालो पूजा गर्ने व्यवस्था मिलाइएको छ । यता जिल्लाका अन्य शिवालयहरु मन्दिरहरुमा पनि दर्शनार्थीहरुको उत्तिकै घुुइँचो लाग्ने गरेको छ ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update