पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गता, दलित र बालपोषण भत्ता घरमै गएर वितरण गरेको हो । नागरिकको घरमै पुगेर २ करोड ६४ लाख बराबरको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।
उनले भने‘ समस्यामा परेका आमनागरिकहरुको सेवालाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हौं ।’ गाउँपालिकाका ९ वटै वडामा जनप्रतिनिधि र कर्मचारीको उपस्थितीमा भत्ता वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । लकडाउनका कारण समयमा भत्ता नपाउँदा समस्यामा परेका नागरिक घरमै जनप्रतिनिधि र कर्मचारी पुगेर भत्ता दिँदा दङ्ग परेका छन् । लकडाउनका कारण बृद्ध–बृद्धाहरु बैङ्कसम्म जान सक्ने अवस्था नभए पछि गाउँपालिकाले घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि स्थानीयमा खुसी छाएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताए ।