Shittalpati
‘स्थानीय सरकारले सहकारी दर्ता गर्ने मात्र होइन,प्रवद्र्धन पनि गर्नुपर्छ’

पाल्पा, नेपाल सरकार तथा सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले स्थानीय सरकारले सहकारी दर्ता गर्ने मात्र होइन, प्रवद्र्धन पनि गर्नुपर्ने बताएका छन् । उनले देश संघीय संरचनामा गइसकेपछि सहकारीमा निहित अधिकार स्थानीय सरकारलाई दिएकाले स्थानीय सरकारले सहकारी दर्ता गर्ने मात्र नभई प्रवद्र्धन गर्नुपर्ने बताएका हुन् ।

आइतबार जिल्ला बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै रजिष्ट्रार पाण्डेले स्थानीय सरकारले सहकारी दर्तालाई मात्र प्राथमिकता दिएकाले अब प्रवद्र्धन गर्नुपर्ने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । केही सहकारीको बदमासीका कारण धेरै सहकारी बदनाम भएको भन्दै उनले आर्थिक समृद्धि र गरिबी निवारणका लागि सहकारी अत्यन्त महत्वपूर्ण औजार भएको बताए ।

प्रत्येक स्थानीय तहमा एउटा मात्र राम्रो सहकारी संस्था हुने हो, भने त्यो स्थानीय तहको विकास हुने उनको तर्क छ । नेपालमा सहकारीको संख्यात्मक विकास भएको र अब एकीकरण मार्फत गुणात्मक विकासका लागि लाग्नुपर्ने पाण्डेले औंल्याए । उनले भने ‘अब सहकारीको गन्तव्य भनेको सदस्य केन्द्रित हो, त्यसैले शेयर सदस्यको हितमा सहकारी केन्द्रित हुनुपर्छ ।’ कार्यक्रममा सहकारी अभियान्ताहरुले सहकारी सम्बन्धी पूर्ण अधिकार स्थानीय तहलाई दिइए पनि स्रोत र साधनको अभावमा प्रभावकारी रुपमा सहकारी सञ्चालन हुन नसकेको विषयलाई रजिष्ट्रार पाण्डे समक्ष राखेका थिए । उक्त विषयमा पाण्डेले भने ‘समस्या प्रति नआत्तिनुहोस्, हतार–हतारमा सहकारी स्थानीय तहलाई दिइयो, न त्यहाँ कर्मचारी छन्, नत स्रोत साधन नै , तर पनि अब कुनै पनि हालतमा सरकारको निर्णय फिर्ता नहुने बरु स्थानीय तहलाई सक्षम र बलियो बनाउनतर्फ विभागले काम थालेको छ ।’

सहकारीले उत्पादन, बजारीकरण र सदस्यहरुको आर्थिक, सामाजिक विकासमा जोड दिदै, सहकारीमा कालो धन भित्रिन सक्ने अवस्था प्रति सबै सजग हुन उनले आग्रह गरे । रजिष्ट्रार पाण्डेले नेपालमा ३५ हजार भन्दा धेरै सहकारीहरु रहेकाले अब आवश्यकता अनुसार न्यूनतम बनाउनुपर्ने बताए । कार्यक्रममा तानसेन नगरपालिका सहकारी विभागका रजिष्ट्रार दुर्गा थापाले नगरभित्रका जनताहरुको आर्थिक समृद्धिका लागि नगर सरकार प्रदेश र संघीय सरकारसँग सहकार्य गर्दै अगाडि बढेको बताए । उनले नगर सरकारले सहकारी ऐन निर्माण गरी अगाडि बढेको भन्दै प्राप्त कर्मचारी र स्रोत साधनको अभावमा कार्यान्वयनमा समस्या रहेको धारणा व्यक्त गरे । स्थानीयतहमा स्रोत साधन प्र्राप्त नभएकाले संघीय सरकारले यसतर्फ ध्यान दिन रजिष्ट्रार थापाले आग्रह गरे । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष ध्रुवराज अधिकारीले सहकारीको पूर्ण अधिकार स्थानीय तहमा आए पनि कार्यान्वयन तह भने कमजोर रहेको बताए ।

कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश कुमार अर्याल, बचत संघका पूर्व जिल्ला अध्यक्ष टीकाराम भण्डारी, जिल्ला सहकारी संघका पूर्वअध्यक्ष दुर्गादत्त रेग्मी, रुप्से सहकारी संस्थाका अध्यक्ष तुलसीराम भुसाल, मिलिजुली सहकारी संस्थाका कोषाध्यक्ष रेनुका शर्मा लगायतले आ–आफ्ना धारणा राख्दै अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । उद्घाटन सत्र कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष जगदीश भट्टराईको अध्यक्षता, कोषाध्यक्ष पं.होमनाथ न्यौपानेको स्वागत, सचिव खेमराज न्यौपानेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update