 
                                                                    रामपुर, रामपुर अस्पताललाई डायलासियस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट अस्पताललाई पाँचवटा डायलासियस मेसिन प्रदान गरिएको हो । पचास शैयाको अस्पताल रहेको यस अस्पतालको आवश्यकतालाई दृष्टिगत गर्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले पाँचवटा डायलासियस मेसिन र एकसेट आरओ प्लान्टसहित अठहत्तर लाख ७३ हजार पाँच सय ९९ बराबरको सामग्री प्रदान गरेको छ । महाशाखाको कार्यालय टेकु काठमाडौँबाट महाशाखा प्रमुख डा सर्वेश शर्माले आइतबार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल र मेडिकल सुपरिटेन्डेण्ट डा विजय परियारलाई हस्तान्तरण गरे ।
पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) का बासिन्दाले सेवा लिने ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल रहेको छ । कालीगण्डकी करिडोरसँग जोडिएकाले पछिल्लो समय यस अस्पतालमा बिरामीको चाप बढ्दो छ । बिरामीलाई स्वास्थ्योपचारमा सहज सेवा दिन र डायलासिस गर्ने बिरामीलाई रामपुर अस्पतालबाटै सेवा उपलब्ध गराउन मागका आधारमा सामग्री उपलब्ध भएको अस्पताल विकास समितिका अध्यक्ष ढकाल बताउँछन् ।
रामपुरमा नै डायलासिसको सुविधा नहुँदा बिरामीले चितवनको भरतपुर, बुटवल, पोखरा, काठमाडौँ लगायतका सहरमा पुगेर सेवा लिँदै आइरहेका थिए । कतिपय सो ठाउँमा पुगेर सेवा लिन आर्थिक अभावमा नसकेर घरमै रोग पालेर बस्न बाध्य थिए । कालीगण्डकी करिडोरले ठूला सहरसँग जोडेको रामपुर प्रमुख नाकाको केन्द्र भागका रुपमा विकास हुँदै गएको अवस्थामा रामपुर अस्पतालमा बिरामीको चाप दैनिक बढ्दै गएको हँुदा यस अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गरिनुपर्ने नगर प्रमुख थापा बताउँछन् । “अस्पतालको सेवा क्षेत्र ठूलो रहेको हुँदा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनेछौँ, अस्पतालमा थप आवश्यकपर्ने उपकरण तथा सामग्री व्यवस्थापनमा नगर सरकारले सहयोग गर्नेछ”, उनले भने । हाल यस अस्पतालमा दैनिक तीन सय ५० भन्दा बढी बिरामीले सेवा लिँदै आइरहेका छन् । अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई सेवा सञ्चालन भएपछि भौतिक पूर्वाधारमा समस्या छैन । –रासस


 
                                         
                                        -1759997616.jpeg) 
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    