पाल्पा, तानसेनका उद्योगी तथा व्यवसायीहरुका लागि दुई दिने कर सम्बन्धी तालिम सञ्चालन गरिएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले तानसेनमा मंगलबारदेखि तालिम सञ्चालन गरिएको हो ।
पाल्पा उद्योग वाणिज्य संघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघको सहयोग र जर्मन सहयोग नियोग (जिआइजेड)को प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको छ । तालिममा पाल्पा उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी, व्यवसायीहरुको सहभागीता रहेको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक लोकराज जोसीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै व्यवसायीमा करका बारेमा सचेतना जगाउने र कानुनी प्रावधानका विषयमा जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न पनि सहभागीहरुलाई आग्रह गरे । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले उद्योगी व्यवसायहरुलाई करका बारेमा भएका अन्यौलताहरु हटाउन र कर तिर्न प्रति उत्प्रेरित गर्न तालिमले महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे । उनले राज्य सञ्चालनको मुख्य आधार कर भएकाले गर्वका साथ व्यवसाय सञ्चालन गर्न समेत उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । अध्यक्ष भट्टराईले हाम्रो विकास हामीले तिरेको करमा निर्भर हुने भएकाले विकासका लागि कर अनिवार्य रहेको बताए ।
आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत धुर्व पोखरेलले कर सामन्य विषय भएपनि ज्ञानको कमी, डर मान्ने जस्ता कुराले कर तिर्न नसकिरहेको अवस्थामा तालिमले सहजीकरण गर्नेमा महत्वपूर्ण भूमिका खेल्ने बताए । जिआइजेडका डेपुटी चिफ टेक्निकल एडभाइजर बरुण कोइरालाले तालिमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै अन्य व्यक्तिहरुलाई समेत सिकाउन आग्रह गरे । कार्यक्रममा एफसिए अरुण रावत र सिए अनिल लामिछानेले कर सम्बन्धी प्रशिक्षण दिइरहेका छन् । उनीहरुले कर के हो ? करका प्रकार, कानुनी व्यवस्था, संस्था दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरु, बरका प्रक्रिया, कानुनी अड्चन लगायतका बारेमा जानकारी दिइरहेका छन् । तालिम बुधबारसम्म चल्ने छ । तालिम शुभारम्भको औपचारिक कार्यक्रम पाल्पा उद्योग वाणिज्य संघका महासचिव समीरमान सिंहले गरेका थिए ।