Shittalpati
होटल व्यवसायीको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानमा चासो

गुल्मी, जिल्लाका होटल व्यवसायीहरुले रेसुङ्गा नगर सरकारले सञ्चालन गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियनमा चासो देखाएका छन् । उनीहरुले नगर सरकारले जेठ २१ गतेदेखि शुभारम्भ गरेको सो अभियानलाई सफल बनाउन प्रचार–प्रसार कार्यलाई तिव्रता दिने कुरामा चासो देखाएका हुन् ।

होटल व्यवसायी मञ्चले रेसुङ्गाको गर्जुरामा गरेको १४ औँ साधारण सभाबाट नगरपालिकाले शुभारम्भ गरेको ‘जाऊ हिँड रेसुङ्गा’ अभियानलाई सफल बनाउन ऐक्यबद्धता जनाएको हो । मञ्चका अध्यक्ष जंगबहादुर कुँवरले रेसुङ्गा नगरपालिकाले शुभारम्भ गरेको अभियानलाई सफल बनाउन  जिल्लामा रहेका सम्पूर्ण होटल व्यवसायीहरू लाग्ने बताएका छन् ।  पर्यटनमार्फत मात्रै यहाँका जनताको आर्थिक समृद्धि र रोजगारीको अवसर सिर्जना हुने भन्दै उनले नगरपालिकासँग सहकार्य गरी अगाडि बढाउने धारणा व्यक्त गरे । पर्यटन व्यवसायी सुदर्शन खनालले जिल्लामा पर्यटनको अपार सम्भावना रहेको बताए । पर्यटन पूर्वाधारहरू निर्माण भइरहेकाले लगानी र पर्यटन प्रवद्र्धनमा सबै पक्षले जोड दिनुपर्नेमा उनले जोड दिए । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुङ्गा क्षेत्रको प्रचार–प्रसार गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि सो अभियानको शुभारम्भ गरेको बताए । उनले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा करिब एक लाख पर्यटकहरूलाई रेसुङ्गामा भित्र्याउने योजना रहेको बताए । आगामी आर्थिक वर्ष लगानी सम्मेलन तथा पर्यटकीय गतिविधि सञ्चालन गरिने बताइएको छ । नगरपालिकाले ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानलाई सफल बनाउनका लागि ७ का वडा अध्यक्ष रामप्रसाद पन्थी ‘रामजी’लाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update