
रासस
तानसेन, पर्यटकीय शहर पाल्पामा आन्तरिक तथा बाह्य पर्यटक लक्षित होटल तथा रेष्टुरेण्ट अहिले पूर्णरुपले बन्द छन् । (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण होटल तथा रेष्टुरेण्ट बन्द हुँदा यहाँको पर्यटन क्षेत्रले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ । यहाँ अहिले पर्यटक आउने राम्रो समय हो । यस्तो समयमा व्यवसाय सञ्चालन नहुँदा आर्थिक रुपमा ठूलो घाटा व्यहोर्नुपरेको व्यवसायीको गुनासो छ । रामपुरमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर गत वर्ष पुसदेखि सञ्चालनमा आएको नमस्ते पाल्पा होटेल एण्ड पार्टी प्यालेस लगायत अहिले ठूलासाना सबै होटल बन्द छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई खाजा र खानाको प्रबन्ध मिलाएका बेला केभिड –१९ का कारण लकडाउन भएपछि होटलमा कार्यरत आठ कामदारलाई विदा दिइएको पार्टी प्यालेसका सञ्चालक शिव पाण्डेले बताए । करीब तीन करोड ५० लाख रुपैयाँको लागतमा सञ्चालित होटल चल्ने राम्रो समयमा बन्द हुँदा आर्थिक घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । रामपुरमा दैनिकजसो सभा, सम्मेलन, विवाहभोज, तालिम लगायत विविध कार्यक्रम हुने न्यू श्रीनगर एण्ड रेष्टुरेण्ट पनि अहिले बन्द छ । रेष्टुरेण्ट बन्दपछि त्यहाँ कामगर्ने नौ कामदार बेरोजगार बनेका छन् । होटलका सञ्चालक महेश श्रेष्ठले दैनिक सात लाखसम्म आम्दानी हुने होटल बन्द हुँदा निकै समस्या भएको बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ भूकम्पपछि विस्तारै माथि उठेको पर्यटन व्यवसाय फेरि थला पर्ने अवस्थामा पुगेको बताए । व्यवसाय बन्द हुँदा ५० प्रतिशत कामदार रोजगार विहीन भएको श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले होटल व्यवसायलाई पाल्पाको पहिचानसँग जोडेर थप व्यवस्थित गर्न थालिएका बेला कोरोना भइरसको संक्रमणले धेरै मानिसको आवत–जावत र सम्पर्क बढ्ने क्षेत्रको व्यवसाय बन्द गर्नाको विकल्प नभएको बताए । उनले होटल व्यवसाय बन्दको असर करीब दुई वर्षपछि सम्म पर्नसक्ने आकलन पनि गरे । होटल बन्द भएपछि बैंकमा भएको ऋण तिर्न र कामदारलाई तलब उपलब्ध गराउनसमेत समस्या भएको व्यवसायीको गुनासो छ । शित्तल मौसम र हरियाली तथा मनोरम वातावरणका कारण पाल्पा पर्यटकको रोजाइमा पर्छ । यहाँ सानाठूला गरी करीब तीन सय होटल सञ्चालनमा छन् ।