पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले बेरुजुु बारे फैलाइएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन र विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा भइरहेको गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ६६ करोड ८० लाख ७ हजार रुपैयाँ वेरुजु लेखिएकोमा त्यो वास्तविकता नभएको नगरपालिकाले जनाएको छ । उसले नगरपालिकाको वास्तविक बेरुजु रकम ९ करोड ८० लाख ७ हजार रहेको भन्दै गलत प्रचार नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
‘आर्थिक बर्ष २०७८÷०७९ को महालेखा परीक्षकको प्रतिवेदन अनुसार हालसम्मको अद्यावधिक बेरुजु रु ६६ करोड ८० लाख ७ हजार भन्ने प्रतिवेदनमा लेखिएकोमा रामपुर नगरपालिकाको हालसम्मको अद्यावधिक यथार्थ बेरुजु नौं करोड ८० लाख सात हजार रहेको व्यहोरा सरोकारवाला तथा सर्वसाधारणका लागि जानकारी गराउदछौँ’ नगर प्रमुख रमणबहादुर थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
नगर प्रमुख थापाले नेपालको आर्थिक प्रशासनको मूल्य मान्यतालाई आत्मसाथ गर्दै आर्थिक सुशासन प्रवद्र्धनका लागि नगरपालिका सदैव तत्पर रहेको भन्दै वास्तविक तथ्य नखोजी कार्यालयको आर्थिक सुशासनप्रति गरिएको अनर्गल प्रचारको पछि नलाग्न सबैमा अनुरोध समेत गरेका छन् । नगरपालिकाले महालेखा परीक्षक कार्यालयको सम्पूर्ण तथ्य सहितको जानकारी सार्वजनिक गरिने समेत जनाएको छ । विज्ञप्ति मार्फत नगर प्रमुख थापाले नगरपालिकाको वित्तिय कारोबारको शुद्धता, पारदर्शिता तथा विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्न सम्पूर्ण नगरवासीमा अनुरोध समेत गरेका छन् ।