Shittalpati
बजेटको आकार घटाइयो, पूँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान

पाल्पा, सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७९/८० को बजेट खर्चको लक्ष्य घटाएको छ । 

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशण महतले चालु आर्थिक वर्षमा १५ खर्ब चार अर्ब ९९ करोड अर्थात् सुरुआती विनियोजनको ८३ दशमलव ९० प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका हुुन् । कूल सरकारी खर्चमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ४९ करोड अर्थात् विनियोजनको ८८ दशमलव १८ प्रतिशत र पूँजीगत खर्च दुई खर्ब ५८ अर्ब ३४ करोड अर्थात् विनियोजनको ६७ दशमलव ९१ र वित्तीय व्यवस्थातर्फ दुई खर्ब तीन अर्ब २६ करोड अर्थात् विनियोजनको ८८ दशमव २९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । 

चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ४४ करोड बराबर हुने संशोधित अनुमान छ । यो वार्षिक लक्ष्यको ८४ प्रतिशत हो भने गत वर्षको तुलनामा पाँच प्रतिशतले न्यून हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेकामा दुई दशमलव १६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने अनुमान छ ।

यस्तै आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता सरकारले खारेज गर्ने भएको छ । स्रोतमा परेको चापलाई मध्यनजर गरी सरकारले भत्ता खारेज गरेको हो । नयाँ सवारी साधन र फर्निचर तथा फर्निसिङ खरिदका लागि सरकारले निरुत्साहित गरेको छ । अत्यावश्यक बाहेक नयाँ भवन निर्माण नगरिने तथा इन्धन, कार्यालयसम्बन्धी सामान लगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिने जनाइएको छ । नेपाल सरकारले अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई पनि निरुत्साहित गरिने बजेटमा उल्लेख छ । साथै, सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको आधारमा इन्धन वापत नगद नै प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update