पाल्पा, माछापुच्छ्रे बैंक रौतहटको चन्द्रपुर शाखाबाट एक सेवाग्राहीको ९ लाख रकम हराएको छ । आइतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट ९ लाख रकम हराएको हो ।
खाताबाट रकम हराएको भन्दै स्थानीयले बैंकको कार्यालयमा घेराउ गर्दैआएका छन् । आइतबार चेक साट्न गएका यादवको खाताबाट रहस्यमय तरिकाले ९ लाख गायब भएपछि रातिसम्म पीडित पक्षले बैंकमा घेराउ गरेका हुन् ।
बृन्दावन न नगरपालिकाका पूर्व वडाध्यक्षसमेत रहेका यादवको खातामा गत शुक्रबारसम्म १२ लाख २० हजार रकम जम्मा थियो । गत बिहीबार उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमा जम्मा गर्न चेक (क्लिरियन्समा) दिएका थिए । शुक्रबार दिउँसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाइलमा म्यासेज समेत आएको थियो । आइतबार ८ लाखको चेक लिएर साट्न गएका यादवले खाताबाट ९ लाख हराएको जानकारी पाएका थिए । यस विषयमा शितलपाटी डटकमले शाखा प्रमुख रामजी दाससँग बुझ्दा अहिले प्रहरी अनुसन्धानमै रहेकाले यही नै हो भनेर भन्न नसकिने बताए । उनले भने‘ हामीले हेर्दा खातावाला यादवकै मोवाईल बैंकिङ्गबाट रकम अन्य व्यक्तिको खातामा ट्रान्सफर भएको देखिन्छ, उहाँको कसैले मोवाईल चलाएर रकम अन्त ट्रान्सफर गरेको हुन सक्छ ।’ यादवको खाताबाट दैनिक जसो ३/३ लाख रकम मोबाई बैंकिङ्गबाट ट्रान्सफर भएको र म्यासेज समेत आएको शाखा प्रमुख दासको भनाई छ ।
पछिल्लो समय बैंक खाताबाटै धमाधम रकम हराउन थालेको छ । खाताबाटै रकम गायब हुन थालेपछि बैंकमा पैसा राखेर ढुक्कले बसेका सर्वसाधारणमा समेत त्रास बढेको छ । खातावालाले प्रहरीमा उजुरी दिए पनि प्रहरी त्यस्ता अपराधी पत्ता लगाउन असफल बन्दै आएको छ । बैक जस्तो संवेदनशील वित्तीय संस्थाबाट एकाएक सर्वसाधारणको पैसा हराइरहँदा सर्वसाधारणको निक्षेप सुरक्षाप्रति राष्ट्र बैंक र सरकारको ध्यान जान सकेको छैन ।
प्रविधिको प्रयोग गरी चोरी गर्नेले बैंक र यस्ता सेवा प्रदायक संस्थालाई माध्यम बनाउनुले ती संस्थाहरुको कमजोर सुरक्षा प्रणाली उजागार गरेको सरोकारवालाहरु बताउँछन् । बैंकको खाताबाट रकम चोरी भएका प्रायः घटनामा खल्ती र इसेवा जस्ता सेवा प्रदायक संस्थाहरुको प्रयोग हुने गरेको पाइएको छ ।