Shittalpati
रामपुरका अपाङ्गता भएका व्यक्तिलाई अमेरिका र बेलायतमा रहेका नेपालीको सहयोग

इमान सिं राना

पाल्पा(रामपुर), अमेरिका र बेलायतमा रहेका नेपालीहरुद्वारा स्थापना भएको एक संस्थाले रामपुर नगरपालिकाका ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बचाउन जारी रहेको बन्दाबन्दीका कारण प्रभावित बनेका फरक क्षमताका व्यक्तिहरुलाई खाद्यान्न प्रदान गरेको हो । अमेरिका र बेलायतका गैरआवासिय नेपालीहरुद्वारा स्थापना भएको टिम मायावी नामक संस्थाले कालीगण्डकी उद्यमी युवा समाज नेपाल सँगको सहकार्य र रामपुर नगरपालिकाको समन्वयमा सहयोग गरेको हो ।

सरकारले अवलम्बन गरेको एकद्वार निती अनुरुप नगरपालिकासँग समन्वय गरी वडा नं. ५ का ६ जना र वडा नं. १ का १ जना अपाङ्गता भएका नागरिकहरुलाई घर–घर मै पुगेर राहत प्रदान गरेको हो । उनीहरुलाई प्रति व्यक्ति ६० केजी चामल, २/२ केजी दाल, नुन, चना, साढे १ लिटर तेल र २ वटा साबुन वितरण गरिएको छ । राहत वितरण कार्यमा रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्ल, कालीगण्डकी उद्यमी युवा समाज नेपालका संरक्षक भोजेन्द्र प्रकाश ढकाल, हरि प्रसाद अधिकारी, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतम, रामपुर नगरपालिका न्यायिक समितिका सदस्य विष्णु प्रसाद बस्याल, रामपुर नगरपालिका ५ का वडा सदस्य काशीनाथ रेग्मी, सचिव दिपेन्द्र प्रसाद भट्टराई लगायतको सहभागीता रहेको थियो ।

टिम मायावी संस्थाका संयोजक विराज भट्टराईले लकडाउनका कारण अपाङ्गता भएका व्यक्तिका संरक्षकहरु काम विहिन बनिरहेको अवस्थामा अवस्था थप दयनीय बन्न सक्ने भएकाले खाद्यान्नका लागि सहयोग गरेको जानकारी दिए । कालीगण्डकी उद्यमी युवा समाज नेपाल सचिव दिपेन्द्र प्रसाद भट्टराईले ५० हजार बराबरको सहयोग गरिएको जानकारी दिए । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले संस्थालाई धन्यवाद दिदै नगरपालिकाले अशक्त र विपन्न परिवारलाई समेट्ने गरी पहिलो चरणको राहत वितरण गरिएको र दोस्रो चरणको पनि तयारी भैरहेको बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update