पाल्पा, जिल्लाका स्थानीय तहहरुले कोभिड –१९ को रोकथाम, उपचार र प्रतिरक्षाका लागि स्थापना गरेका कोरोना राहत कोषमा पाल्पा प्याब्सनले सहयोग गरेको छ । निजी तथा आवासीय विद्यालयहरुको संगठन पाल्पा प्याब्सनले जिल्लाका सात स्थानीय तहमा राहत रकम सहयोग गरेको हो । प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूबाट सहयोग स्वरूप उठाएको राहत रकम जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकालाई राहत रकम हस्तान्तरण गरेको छ ।
प्याब्सनले तानसेन नगरपालिकाकाले स्थापना गरेको कोरोना राहत कोषमा ५० हजार, रामपुर नगरपालिकाको राहत कोषमा ३० हजार सहयोग गरेको छ । त्यस्तै बगनासकाली गाउँपालिका,रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका,रम्भा गाउँपालिका,माथागढी गाउँपालिकाहरुले स्थापना गरेका राहत कोषमा २०/२० हजारका दरले रकम हस्तान्तरण गरेको प्याब्सनका कोषाध्यक्ष गंगाबहादुर खत्रीले जानकारी दिए ।
प्याब्सनका जिल्ला अध्यक्ष भरत प्रसाद न्यौपानेले आईतबार तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीलाई नगरको राहत कोषका लागि रकम हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरण गर्दै अध्यक्ष न्यौपानेले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि स्थानीय तहहरुले स्थापना गरेका राहत कोषमा केही सहयोग होस् भन्ने उद्देश्यले राहत रकम सहयोग गरिएको बताए । उनले निजि विद्यालयले विभिन्न समयमा विपद् व्यवस्थापनका लागि सहयोग गर्दै आएको र विश्व माहामारीको समयमा पनि केन्द, प्रदेश र स्थानीय तहलाई पाल्पा प्याब्सनले सक्दो राहत रकम उपलब्ध गराएको जनाए ।
केन्द्रिय प्याब्सन मार्फत पाल्पा प्याब्सनले पनि १ लाख ५० हजार रुपैयाँ केन्द्रिय राहत कोषमा भुक्तानी गर्ने अध्यक्ष न्यौपानेले बताए । त्यस्तै अन्य स्थानीय तहमा भने प्याब्सनका फोकल पर्सनहरुले रकम हस्तान्तरण गरेका छन् ।