_(1).jpg)
रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको मदाने गाउँपालिकाद्वारा अलपत्र परेका मजदुरहरुको उद्दार गरिएको छ । पर्वत र बाग्लुङ्गबाट आएका १९ जना मजदुरलाई गाउँपालिकाको पुर्कोटदहबाट उद्दार गरिएको हो । पर्वतबाट आएका १० जना मजदुरहरुको टोली जिल्लाको सदरमुकाम तम्घास हुँदै पुर्कोटदह आएको थियो । त्यस्तै बाग्लुङ्गबाट ढाई बर्षीय बालक सहित ९ जनाको टोली पनि शनिबार साँझ पुर्कोटदहमा आएको थियो ।
उनीहरुलाई सुरक्षित साथ पुर्कोटदहमा निर्माण गरिएको क्वारेन्टाइनमा खाना र बासको व्यवस्था गरी आईतबार विहान सम्बन्धित ठाउँमा पुर्याउने व्यवस्था गरिएको थियो । पर्वतबाट आएका १० जनाको टोली दाङसम्म पुग्ने बताईएको छ । त्यस्तै बाग्लुङ्गबाट आएका ९ जनाको टोली बाँके र बर्दियासम्म पुग्ने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिईन् ।
कोरोना भाइरस (कोभिड–१९) को माहामारिलाई नियन्त्रण गर्नको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउन लम्बिदै गर्दा आफ्नो घरसम्म पुग्ने नागरिकहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । सुरक्षित साथ आफ्नो घर पुग्नको लागि निकै समस्या भएता पनि नागरिकहरु हिड्दै भए पनि घर पुग्न खोजिरहेका छन् ।
यसरी अलपत्र परेका ति नागरिकहरुलाई केहि राहत मिलोस भन्ने उद्देश्यले गाउपालिकाले सुरक्षित साथ सम्बन्धित गन्तव्यसम्म पुर्याउन सहयोग गरेको बताईएको छ । यि दुवै टोलीलाई मदाने गाउपालिकाले प्युठान नगरपालिकासँग समन्वय गरी प्यूठानसम्म पठाईएको गाउँपालिकाले जनाएको छ ।
८ सय १६ विपन्न परिवारलाई राहत
गाउँपालिका भित्रका निम्न वर्गका समुदाय, मजदुर लगायतका अति विपन्न ८ सय १६ परिवारलाई पहिलो चरणको राहत वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ । एक परिवारलाई ३० किलो चामल, तीन किलो दाल, दुई लिटर तेल, चारवटा साबुन, दुई किलो चिनी, दुई किलो नुन दिइएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए ।
क्वारेन्टाइनमा रहेका १० नागरिक घर फर्किए
गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका १० जना नागरिक घर पर्किएका छन् । उनीहरुलाई गाउँपालिकाले स्वास्थ्य परीक्षण गरेपछि घर फर्किएका हुन् । अहिले देशमा लकडाउन भईरहेको अवस्थामा गाउँपालिका भित्र सजगता अपनाउँदै मदानेमा प्रवेश गर्ने हरेक व्यक्तिको गाउँपालिकाले निगरानी समेत गरिरहेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणको तयारी
सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्ने गाउँपालिकाले तयारी गरिरहेको छ । प्रत्येकको घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भैरहेको गाउँपालिका अध्यक्ष केसी जानकारी दिए । उनले सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेपछि मात्र दोस्रो चरणको राहत वितरण गर्ने बताए ।