पाल्पा, पाल्पाको तानसेनस्थित टुँडिखेलमा पाल्पा महोत्सव २०८० सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा ‘सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल, हामी सबैको उत्सव, पाल्पा महोत्सव’ भन्ने मूल नाराका साथ १३ औं व्यापार महोत्सव ब्हिीबारदेखि सञ्चालन भएको हो । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले कोरोना महामारीका कारण सुस्ताएको व्यापारलाई चलाएमान बनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले पाल्पालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । महोत्सवको पहिलो दिन तानसेनका विभिन्न विद्यालयका विद्यार्थी, टोल विकास संस्था, संघसंस्था, धार्मिक संघसंस्था, व्यापारिक प्रतिष्ठानको सहभागितामा जनचेतनामूलक र्याली निकालिएको थियो । र्यालीले जनचेतनामूलक प्लेकार्डसहित तानसेन नगरको परिक्रम गरेको हो । महोत्सवमा जिल्लामा उत्पादन भएका वस्तु तथा सेवाको प्रदर्शनी, विक्री, वितरण गरिएको छ । मेलामा घरेलु उत्पादनका साथसाथै स्थानीय उत्पादनका स्टल राखिएको छ । मेला हेर्न गाउँ गाउँबाट दर्शकहरु तानसेन आएका छन् । मेलामा पाल्पाली करुवा, रानीमहलको स्वरुप भित्र सचिवालय निर्माण गरिएको छ । जुन आकर्षणको रुपमा रहेको छ ।
पाल्पाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक, पर्यटकीय स्थलको प्रचारप्रसार, घरेलु तथा कुटिर उद्योग प्रवद्र्धन, कला संस्कृतिको संरक्षण लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । महोत्सव अवधिभर पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा विक्री राखिएको छ । मेलामा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति पनि रहने छ । मेलामा ३ सय स्टल रहेका छन् । महोत्सवबाट २ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोवार गर्ने अपेक्षा संघले राखेको छ । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा पाल्पामा पहिलोपटक २०६० मा सुरु भएको मेला महोत्सवले अहिले पनि निरन्तरता पाएको हो । मेलामा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको महोत्सव प्रचारप्रसार समितिका संयोजक विदुर घिमिरेले बताए ।