पाल्पा, जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले एक वर्ष भित्र भएका कार्यक्रम तथा गतिविधिहरुको समीक्षा तथा आगामी वर्षको योजनाका बारेमा छलफल गरेको छ । सहकारीले २०७९ सालमा भए गरेका गतिविधिहरुको व्याापक समीक्षा र २०८० मा गर्ने कार्यक्रम तथा योजनाका विषयमा छलफल गरेको हो ।
उसले भगवती टोलमा रहेको आफ्नै भवनमा समीक्षा तथा छलफल गरेको छ । संस्थाका अध्यक्ष विष्णु गाहाको अध्यक्षतामा बसेको छलफलले २०७९ मा सहकारीले शेयर सदस्यताको वृद्धिसँगै क्षमता अभिवृद्धिका क्षेत्रमा उल्लेखीय काम गर्न सफल भएको बताएको छ । छलफलमा सहकारी अध्यक्ष गाहाले आर्थिक संकटका बावजुत पनि सहकारीले राम्रै कारोबार गर्न सफल भएको बताए । उनले शेयर सदस्यहरुको आर्थिक वृद्धि गर्नेदेखि उनीहरुको क्षमता विकास गर्ने कुरामा सहकारीले विशेष प्राथमिकताका साथ काम गरेको बताए ।
उनले आगामी वर्ष सहकारीको लगानी विस्तार गर्ने, शेयर सदस्यहरुको आर्थिक विकास गर्ने, सहकारीलाई प्रविधिमैत्री बनाउने, सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै लैजाने समेत बताए । अध्यक्ष गाहाले सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सहकारी अगाडि बढेको समेत बताए । उनले आर्थिक विकासका ३ खम्बा मध्ये सहकारी एक भएकाले पनि सहकारीको विकास र विस्तार भए मात्र देशको आर्थिक समृद्धि हुन सक्ने बताए । बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यले २०७० सालमा यो सहकारी स्थापना भएको थियो ।