Shittalpati
पाल्पा उद्योग वाणिज्यको सम्मान तथा क्यालेण्डर विमोचन, महोत्सवको तयारी तिव्र

पाल्पा, पाल्पा उद्योग वाणिज्य संघले संघको प्रदेश र केन्द्रीय तहमा निर्वाचित सदस्यहरुलाई सम्मान तथा नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन गरेको छ । संघले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा क्यालेण्डर विमोचन गरेको हो । संघले भर्खरै उद्योग वाणिज्य संघको सम्पन्न केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष मोहन श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष मधुदयाल शैजुलाई सम्मान गरेको छ ।

संघका अध्यक्ष शैलेन्द्र भट्टराई, लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले संघ र प्रदेशमा निर्वाचित दुवै जनलाई सम्मान गरेका हुन् । उनीहरुलाई सम्मान गर्दै प्रमुख अतिथि रानाले उद्योगी व्यवसायीहरुको हितमा काम गर्न संघलाई आग्रह गरे । सांसद रानाले संघ संस्थागत स्वार्थभन्दा माथि उठेर उद्योगी, व्यवसायीहरुको पक्षमा सधैव क्रियाशिल रहनुपर्ने बताए । संघका अध्यक्ष शैलेन्द्र भट्टराईले देशभित्रको राजनीतिले स्पष्ट खाका कोर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रले उद्योग, व्यवसाय क्षेत्रमा लगानी मैत्री वातावरण बनाउँदै आर्थिक, सामाजिक रुपान्तरणबाट देशको विकासमा सहयोगी भूमिका खेल्दै आएको बताए । उनले वैशाख १४ गतेदेखि हुन लागेको महोत्सवको तयारी समेत तिव्र पारिएको बताए । कार्यक्रममा संघका निर्वमान अध्यक्ष राजु महर्जन, संघका पूर्व अध्यक्ष तथा संघका केन्द्रीय सदस्य मोहन श्रेष्ठ, प्रदेश सदस्य मधुदयाल सैजु, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सोही अवसरमा संघको क्यालेण्डर समेत विमोचन गरिएको थियो । संघका गतिविधिहरु समेटिएको नयाँ वर्षको क्यालेण्डर विमोचन गरिएको संघका सचिव तथा क्यालेण्डर विमोचनका संयोजक विदुर घिमिरेले बताए । सोही अवसरमा महोत्सवको तयारीका बारेमा समेत पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । वैशाख १४ गतेदेखि हुने महोत्सवको तयारी तिव्र रुपमा अगाडि बढेको महोत्सव प्रचार–प्रसार संयोजक विदुर घिमिरेले बताए । उनका अनुसार अहिले स्टल राख्ने काम भइरहेको छ । ७ गतेसम्म स्टलको सम्पूर्ण काम सकिने उनले बताए । महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी गरिने छ । महोत्सवमा महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका ३ सय भन्दा बढी स्टल रहने प्रचार–प्रसार संयोजक घिमिरेले बताए । उनका अनुसार महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । संघका अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षता, वाणिज्य उपाध्यक्ष भिमबहादुर श्रेष्ठको स्वागत, उद्योग उपाध्यक्ष उत्तमकुमार बज्राचार्यको धन्यवाद ज्ञापन, महासचिव समिरमान सिंहको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update