Shittalpati
पाल्पाको युनिक एफएमबाट कक्षा ११/१२ का परीक्षार्थीका लागि दूरशिक्षा रेडियो कार्यक्रम

पाल्पा, कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण परीक्षाको तयारीमा जुटेका लाखौं विद्यार्थीको पढाई प्रभावित भएको छ । कोरोना त्रासको विषम परिस्थितिमा पनि विद्यार्थीलाई लक्षित गरी केही स्थानहरुमा दुरशिक्षा रेडियो कार्यक्रमहरु सञ्चालन भएका छन् । कक्षा १२ को बैशाख १५ गतेदेखि र ११ को बैशाख २९ गतेदेखि हुने भनिएको परीक्षा लकडाउनका कारण स्थगित भएपछि परीक्षार्थीलाई लक्षित गरी युनिक एफएम ९४.२ मेगहर्ज पाल्पाले दूर शिक्षा रेडियो कार्यक्रम शुरु गरेको छ । सिक्ने र सिकाउने व्यक्तिहरू दुई भिन्नभिन्न स्थान र समयमा बसेर विभिन्न श्रव्य, दृश्य, जस्ता सामग्रीहरूको माध्यमबाट शिक्षा प्रदान गर्ने विधि दूरशिक्षा हो ।

यही दूरशिक्षाको उद्देश्यलाई अंगिकार गरी विश्वरभर फैलिएको कोरोना सन्त्रासका कारण अनिश्चित बनेको कक्षा ११/१२ को परीक्षालाई मध्यनजर गर्दै तानसेन नगरपालिकाको सहयोग, युनिक एफएम पाल्पाको उत्पादन तथा प्रशारण, इभरग्रीन एजुकेसन सेन्टरको जनशक्ति संयोजन तथा परामर्शमा रेडियो कार्यक्रम शुक्रबारदेखि सञ्चालनमा आएको हो । परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरुलाई लामो समयसम्मको लकडाउनले गर्दा प्रभावित हुने अवस्था सिर्जना भएकाले उनीहरुलाई मध्यनजर गर्दै दूरशिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको नगर प्रमुख अशोक शाहीले बताए । स्थानीय रेडियोमार्फत सञ्चालन गरिएको कार्यक्रम विद्यार्थीहरुका लागि फलदायी हुने शाहीले विश्वास व्यक्त गरे ।

दूरशिक्षा रेडियो कार्यक्रम कक्षा ११ का लागि आइतबार,मंगलबार,बिहिबार,शनिबार ८ बजेदेखि ३ बजेसम्म र कक्षा १२ को लागि सोमबार ,बुधबार ,शुक्रबार ८ बजेदेखि ३ बजेसम्म प्रसारण हुने एफएमका अध्यक्ष जगदीश भट्टाईले जानकारी दिए । स्थानीय शिक्षकहरु रेडियो स्टेशनमा आई अनिवार्य अंग्रेजी, गणित,लेखाशास्त्र र भौतिक विज्ञान विषय रेडियोबाट बोलेरै सिकाउने अध्यक्ष भट्टराईले बताए । शिक्षकहरु तिलक सापकोटा, कमल बस्याल, प्रमोद ज्ञवाली, देवराज शर्माले विषयगत रुपमा रेडियोबाटै विद्यार्थीहरुलाई सिकाउने छन् । रेडियोले शिक्षकसँग टेलिफोन र फेसबुकमार्फत पनि प्रश्न सोध्न सकिने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update