Shittalpati
लुम्बिनी विशिष्टीकृत सहकारी संघले पाल्पाका दुग्ध उत्पादक किसानलाई सहयोग गर्ने

पाल्पा,लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेडले पाल्पाका दुग्ध उत्पादन गर्ने कृषकहरुलाई प्रशोधनका क्षेत्रमा सहयोग गर्ने भएको छ । उसले रुपन्देहीको तिलोतमा नगरपालिकामा दुग्ध उत्पादन तथा परियोजनामार्फत आर्थिक समृृद्धिका लागि दुग्ध प्रशोधनका क्षेत्रमा सहयोग गर्ने भएको हो ।

संघले सोमबार तानसेनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिल्लाको दुग्ध प्रशोधनका लागि सहयोग गर्ने बताएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष डा.खगराज शर्माले संघले दुग्ध उत्पादन गर्ने किसानहरुलाई प्रोत्साहन गर्नका लागि जिल्लामा सञ्चालित दुग्ध सहकारीहरुलाई संघमा आवद्ध हुन समेत आग्रह गरे । उनले यूएचटी परियोजनाको वर्तमान अवस्था, त्यसको औचित्य, लगानी, बजारीकरणको अवस्थाका, लगानी र सम्भावनाका विषयमा प्रस्तुति समेत राखेका थिए ।

कार्यक्रममा संघीय सांसद ठाकुर गैरेले आर्थिक समृद्धिमा सहकारी दुग्ध प्रशोधन परियोजनाले पाल्पा जिल्लालाई पनि समाविष्ट हुने कुराले पाल्पाका दुग्ध कृषकले उत्पादन गरेको दुधले महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे । अर्का सांसद नारायणप्रसाद आचार्यले सहकारीका माध्यमबाट रोजगारी र कृषि उत्पादनमा महत्वपूर्ण योगदान हुने धारणा व्यक्त गरे । प्रदेश सांसद् तथा पूर्वमन्त्री वीरबहादुर रानाले संघले पाल्पालाई कार्यक्षेत्र बनाएर आर्थिक विकासको कार्य थालनी भएकोमा खुसी ब्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न राजनैतिक दलका नेताहरूले कार्यक्रमको सफलताको कामना गरेका थिए । कार्यक्रम स्थानीय आयोजक संस्था जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पाण्डेको सभातित्व, संघका सचिव कृष्ण भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

लुम्बिनी विशिष्टीकृत सहकारी संघ लुम्बिनी प्रदेशका धेरै सहकारी संस्थाहरूको लगानीमा विशिष्टीकृत सहकारी संस्थाका रूपमा गत दुई बर्ष पहिला लुम्बिनी प्रदेशमा पहिलो विशिष्टीकृत संस्थाका रूपमा दर्ता भएको हो । प्रदेशका ५१ वटा प्रारम्भिक सहकारी संस्थाहरूको सहभागितामा यो संस्था स्थापना भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update