पाल्पा, आगामी जेठ दोस्रो सातादेखि भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान हुने भएको छ । नेपाल एयरलाइन्सले भैरहवालाई दुई गन्तव्यमा जोड्ने गरी उडानको तयारी थालेको छ ।
एयरलाइन्सले उडानका लागि प्रक्रिया शुरु गरेको छ । त्यस प्रयोजनका निम्ति दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको एयरलाइन्सले जनाएको छ । उसले जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कार्यलाई तीव्रता दिई कर्यप्रारम्भ गरेको बताएको छ । एयरलाइन्सले दुई मुलुक र इनरुट पर्ने मुलुकमा आवश्यक पर्ने अनुमतिका लागि निवेदन दिइसकेको छ । सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढेको जनाइएको छ । नेपाल वायुसेवा निगम यी दुई गन्तव्यबाट अहिले काठमाडौंमा भने नियमित उडान गरिरहेको छ । भैरहवाबाट अहिले जजिराले मात्र नियमित उडान गरिरहेको छ । निगमले दुवै रुटमा ए ३२० जहाज प्रयोग गर्ने गरी तयारी गरिरहेको जनाएको छ । उडान सेवा शुरु भएपछि लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी यात्रुहरूलाई थप आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गरिने निगमले जनाएको छ । विसं २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको थियो । यो विमानस्थल भएर बौद्ध धर्मालम्बीको बाहुल्यता भएका मुलुकहरू श्रीलड्ढा, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, लाओसलगायत मुलुकमा हवाई सञ्जाल विस्तार गरी ती मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण हुने अपेक्षा गरिएको छ ।