इमान सिं राना
पाल्पा,कोरोना भाईरसको संक्रमणका कारण जारी लकडाउनबाट प्रभावितहरुका लागि जिल्लाका विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । सरकारले अवलम्बन गरेको एक द्वार प्रणाली अन्तर्गत स्थानीय तहहरुमा संघ संस्था तथा व्यक्तिहरुले राहतका लागि सहयोग गरेका हुन् । रामपुर नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा विहिबारसम्ममा नगद तथा जिन्सी गरी १० लाख बढी संकलन भैसकेको रामपुर नगरपालिकाले जनाएको छ । प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारलाई दोस्रो चरणको राहत उपलब्ध गराउने तयारी भएको समयमा नगरका संघ संस्थाहरुले नगद तथा जिन्सी गरी सहयोग गरेका हुन ।
नगरपालिकाको कोषमा नगद, खाद्यान्न तथा स्वास्थ्य सामग्री गरी १० लाख ७ हजार ८ सय ७१ रुपैयाँ बराबरको राहत संकलन भैसकेको रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँणले जानकारी दिए । उनका अनुसार हालसम्म पतञ्जली योगपीठ नेपालबाट २ लाख ६० हजार बराबरको साबुन, नेपाली कांग्रेस रामपुर नगर समितिबाट नगद १ लाख ७७ हजार ८ सय ५६, अन्धकारमुक्ती बचत तथा ऋण सहकारीबाट नगद १ लाख, एकिकृत मगर उत्थान समाज रामपुरबाट नगद ८२ हजार ३ सय ९०, क्षेत्री समाज नेपाल रामपुरबाट नगद २५ हजार १ सय २५, रामपुर बचत तथा ऋण सहकारीबाट ९० हजार बराबरको खाद्यान्न, नमस्ते रामपुर यातायात प्रालिबाट नगद ५० हजार, ग्रामीण उत्थान युवा समाजबाट ३१ हजार ५ सयको खाद्यान्न, रामपुर क्यापिटल एण्ड इन्भेष्टमेन्ट प्रालिबाट नगद २५ हजार, ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थाबाट नगद २५ हजार, रामपुर उद्योग वाणिज्य संघबाट नगद ५१ हजार, पूर्वी पाल्पा औषधी व्यवसायी संघबाट ५० हजार बराबरको स्वास्थ्य सामग्री, आदर्श भूपू सैनिक संस्थाबाट नगद २० हजार, पाल्पा पोखरा सम्पर्क समाजबाट नगद १० हजार, बेस नेपालबाट नगद १० हजार बराबरको सहयोग संकलन भएको खाँणले जानकारी दिए ।
रामपुर नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले प्राप्त सहयोग नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको बताउँदै त्यही सहयोग मार्फत दोस्रो चरणको राहत वितरणको तयारी भैरहेको बताए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले दोस्रो चरणको राहत वितरणका लागि लगत संकलन गर्ने कार्य भइरहेको बताए । उनले नगरले सार्वजनिक सूचना आह्वान गरी वडाहरुबाट तथ्याङ्क संकलन गरिरहेको बताउँदै तथ्याङ्क संकलन पश्चात सरोकारवालाहरुको समन्वयमा वास्तविक अवस्था पहिचान गरी राहत वितरण गरिने बताए । रामपुर नगरपालिकाको समन्वयमा एकद्वार प्रणाली लागु हुनु अघि ईस्लामिक सक्रिय युवा समाज नेपालले दुई सय घरपरिवार र पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले चार सय छ जना मजदुरलाई राहत सामग्री वितरण गरिसकेको छ ।