कृष्ण पोखरेल
पाल्पा, गर्मी मौसम शुरु भएसँगै देशभरी आगलागीका घटनाहरु बढ्दै गएको समयमा डढेलो नियन्त्रणका लागि पाल्पामा नौलो अभ्यास सुरु भएको छ । आगलागीका घटनाहरु हुनै नदिन र भइहाले पनि मानव बस्तीमा क्षति नहोस् भन्नका लागि डिभिजन वन कार्यालय पाल्पाले श्रीनगरडाँडाको जंगलबाट नौलो अभ्यास सुरु गरेको हो ।
वन क्षेत्रमा सेना, प्रहरी, शसस्त्र प्रहरी, स्थानीय उपभोक्ता, वन कर्मचारी गरी तीन सय भन्दा बढी व्यक्तिहरुको सहभागितामा अग्नी रेखा निर्माण र जलनशिल पदार्थ सरसफाई गरिएको छ । फागुन चैत्रको महिना हावा हुरी लाग्ने, रुख विरुवामा पुरानो पात झरी नयाँ पात पलाउने मौसम भएकाले वन जंगलमा आगलागीका घटनाहरु हुने गरेका छन् । गर्मी मौसमा आगलागीका घटना न्युनिकरण गर्ने अभियानाका साथ डिभिजन वन कार्यालय पाल्पाले समुदाय केन्द्रित नौलो अभियान शुरु गरेको हो । उसले सामुदायिक वनका उपभोक्ताहरुलाई सक्रिय बनाउँदै सुरक्षा निकायको सहयोगमा वन जंगलको बस्ती नजिक जोखिम क्षेत्रमा अग्नी रेखा निर्माण गरी तल माथी दायाँ बायाँ जलनशिल पदार्थ, घाँस, दाउरा, पात पतिर पूूर्ण रुपमा हटाउने अभियान सञ्चालन गरेको छ । अग्नी रेखा क्षेत्रमा झरेका पात पतिङ्गर सरसफाई गरी जलाउने अभियानबाट आगलागीको ठूूलो घटना नहुने र मानवबस्तीमा आगो छिर्न नसक्ने गरी श्रीनगरडाँडाबाट यो अभियान शुरु गरेको डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख नारायणदेव भट्टराईले बताए । कार्यालयले अति जोखिम मध्य जोखिम र न्यून जोखिम डढेलो लाग्ने क्षेत्रको पहिचान गरी सोही अनुसारको रणनीति बनाई काम गरेको छ । तानसेनको श्रीनगरडाँडा, तेल्घा, धरमपानी, बन्दीपोखरा, बौघागुम्वा, रैनादेवी छहराको सोमादी भुवन पोखरी, छहरा, जुठापौवा, तिनाउ गाउँपालिकाको कचल, दोभान, झुम्सा, चर्चरे कोल्डाडा, रिव्दीकोट गाउँपालिकाको देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे क्षेत्र बन डढेलोको उच्च जोखिममा रहेका छन् । यसैगरी माथागढी गाउँपालिकाको झडेवा, हात्तिलुङ, गोठादी र रहवास, निस्दी गाउँपालिकाको भिरुवास, मित्याल र ज्यामिरे, पुर्वखोला गाउँपालिकाको जल्पा, रिङनेरह, देवीनगर क्षेत्र डढेलोको अति जोखिम क्षेत्र हुन् । पाल्पा डढेलोको उच्च जोखिम क्षेत्र भएकाले जिल्लाका सबै सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, सरोकारवाल निकायहरुलाई जनचेतना तथा आगलागी नियन्त्रणको लागि अभियानमा सहभागी गराउने गरी योजना बनाएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।
आगलागी नियन्त्रणको अग्नीरेखा सरसफाईमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, स्थानीय वन उपभोक्ता, डिभिवन वन कार्यालयका कर्मचारी, रेडक्रसकर्मी खटिएका छन् । उनीहरुले श्रीनगरडाँडाको अग्नी रेखा नियन्त्रण वरपर सरसफाई गरी आगलागीको जोखिमलाई हटाएका छन् । श्रीनगरडाँडामा आगलागी भएमा अग्नीरेखा तलको आगो तलैबाट नियन्त्रण हुने र माथिको आगो माथि नै नियन्त्रण हुने गरी जंगलको बिच बिचान अग्नी रेखा निर्माण गरिएका छन् । जिल्लामा आगलागीका घटनाहरु हुन नदिन गाउँ गाउँमा रहेका सबै प्रहरी चौकीबाट वन उपभोक्ता, स्थानीयवासीसँंग मिलेर अग्नीरेखा निर्माण, पात पतिङ्गर संकलन अभियान नै चलाउने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले बताए । जिल्लाका दश गाउँपालिका ८१ वटा वडाहरु मध्ये २७ वटा वडा वन डढेलोको उच्च जोखिमा रहेका छन् भने ३९ वटा वडा मध्यम जोखिम र २५ वटा वडा न्यून जोखिम रहेका छन् । जिल्लाका ३३ प्रतिशत वनजंगल डढेलोको अति जोखिम, ३६ प्रतिशत मध्यम र ३१ प्रतिशत जंगल न्यून जोखिम रहेका छन् । यहाँ ८६ वटा सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् ।