Shittalpati
रैनादेवी छहराको गोखुङ्गामा दुई दिने न्वागी महोत्सव हुँदै

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीको गोखुङ्गास्थित रैनादेवी मन्दिर परिसरमा  यही मंसिर ७ र ८ गते न्वागी मेला हुँदैछ ।  यस बर्ष कार्तिक २७ गते देवीको लागि मुठी लिइसकेको र मंसिर ७ गते  ९ : ३०  बजे भित्र पूर्व फर्केर रैनादेवीलाई नयाँ धानको अक्षेता चढाउने कार्यक्रम रहेको छ ।

परम्पराकाल देखिनै पश्चिम पाल्पा, पूर्वी अर्घाखाँची, दक्षिण गुल्मीका जनताले रैनादेवी भगवतीलाई  उत्पादन गरेको  नयाँ धान, चामल चढाएर मात्र खाने दिनलाई न्वागी पर्वको रुपमा मनाउने प्रचलन रहँदै आएको छ । यस क्षेत्रमा परापूर्वकाल देखी नै  देवीलाई धान चामल चढाउने, पुजा पाठ गर्ने, स्तुती गान गर्ने र सोही राती देखी नै देवी मन्दिर परिसरमा आ–आफ्नो जात जातिको कलासंस्कृतिको प्रस्तुती गरी देवीलाई खुसी पार्ने चलन रहेको छ । पश्चिम पाल्पामा नयाँ धान भित्र्यापछि लामाधामीले देवीसँग सोधी दही चामल सिलाम केरा मह लगायतका बस्तु देवीलाई अर्पण गरेपछी मात्र, आमरुपमा उपभोग गर्ने चलन रहेको छ । न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याइएमा सो घरमा अनिष्ट हुने जनविश्वास स्वरुप पश्चिम पाल्पाका जनताले  परम्पराकालदेखि नै न्वागी पर्वलाई  उत्सवको रुपमा मनाउँदै आएका छन् । न्वागी पर्व पश्चिम पाल्पाकै धार्मिक आस्थासँगै मौलिक संस्कृति, जीवन पद्धती, कृषक तथा कला संस्कृतिसँग गासिएको छ ।

न्वागी पर्वको अवसर पारेर  वडा कार्यालय र रैनादेवी मन्दिर व्यबस्थापन समितिले मन्दिर परिसरमा आएका भक्तजन तथा अतिथिहरुलाई, नयाँ धानको  दही र चामल खुवाउने र   पालिकास्तरीय मौलिक कलासंस्कृति सहितका विभिन्न किसिमका परम्परागत मौलिक कलासंस्कृति तथा  नाच प्रदर्शन गरिने वडा अध्यक्ष प्रदिप पौडेलले जानकारी दिए ।  मन्दिर परिसरमा लोपोन्मुख पञ्चेबाजा, सोरठी, मालश्री, ,ठूलो नाचँ, रत्यौली, झाम्रे चुड्का, लाखे, कौडा मारुनी, जस्ता विभिन्न जात जातीका स्थानीय मौलिक कलासंस्कृति सहितको  प्रतियोगिता सञ्चालन गरिने वडा अध्यक्ष पौडेलले बताए ।

स्थानीय मौलिक कलासंस्कृतिलाई जोगाउन, स्थानीय स्तरमा कलाकार उत्पादन गर्न पालिका स्तरीय कलासंस्कृती प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रुक्माङ्गगत भट्टराईले बताए । पालिकाको नाम समेत यसै मन्दिरबाट भएको, पालिका भित्रका हरेक वडा तहका धार्मिक आस्थासँगै कला संस्कृतिको जर्गेना गर्ने काममा पालिका लागि परेको  अध्यक्ष  भट्टराईले बताए ।

प्रतियोगीतामा  प्रथम हुनेलाई १५ हजार  दोस्रो हुने टोलीलाई नगद १२ हजार  र तेस्रो हुनेलाई १० हजार,  सहभागी सबै टोलीहरुलाई ५ हजारका दरले पुरस्कारको व्यवस्था रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुपाल सिंह खाम्चाले बताए  ।

 यस मन्दिरको अनौठो परम्परागत मान्यता रहेको छ । हालको रैनादेवी मन्दिर भएको जंगल न्यौपाने बाहुनको बारी रहेको थियो ।  गाईले दैनिक रुपमा दुध नदिएपछि, न्यौपाने बाहुन र छहरी मगरले गाईको पिछा गर्दै जादा बारीको विचमा  सुनको मौलोमा दुध चढाईरहेको देखे पछी  दुवै जनाले सुनको मौलो खन्दै जादा तल तल  भासिदै गयो । सुनको टाउको  भाचेर भएपनि लैजान्छु भनी कोदालोको  पासोले हान्दा रगताम्य भई रुदै देवी उत्पन्न भएको भनाई रहेको छ । देवी  भागेर अन्य स्थान जादै गर्दा दर्लामी र सोमै मगरले रोकी पुजाआजा शुरु गरेको भनाई रहँदै आएको छ  । आम रुपमा  रोईन देवी, रोईन देवी, भन्दा भन्दै अपभंश भई रैनादेवी हुन गएको बुढापाकको भनाई रहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update