पाल्पा, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले एघार जना नारीलाई सम्मान गर्न लागेको छ । प्रतिष्ठानले आफ्नो २० औं वार्षिक दिवस तथा ९७ औं कुलमणि देवकोटा जन्मजयन्तीका अवसरमा उनीहरुलाई सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।
प्रतिष्ठानले कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कार, लक्ष्मीप्रिय जगत बहादुर जोशी स्मृति पुरस्कार,जगत कुलमणि कविन्द्र त्रिनक्षत्र पुरस्कार,विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कार , इन्द्रलाल भारती शिक्षा सेवा सम्मान, शक्तिराज रेग्मी सञ्चार सेवा सम्मान बालहरी स्वास्थ्य सेवा पुरस्कार, दीनानाना साहित्य सेवा सम्मान, राधाब्रद्री स्मृति स्वयंसेवा सम्मान, शिक्षा, स्वास्थ्य, साहित्य प्रतिष्ठान राष्ट्रिय सुसेली सम्मान र तुलठगी शैक्षिक प्रतिभा पुरस्कार गरी साहित्य , शिक्षा, स्वास्थ्य,सञ्चार र समाजसेवाको क्षेत्रमा योगदान पुर्याउने ११ नारी व्यक्तित्वलाई सम्मान गर्न गइरहेको प्रतिष्ठानका संस्थापक अध्यक्ष पुष्कर अथक रेग्मीले एनजेडीलाई जानकारी दिए ।
कार्यक्रममा प्रतिष्ठानले चारवर्षे विमला कमल शैक्षिक छात्रवृत्ति , ज्ञानज्योति शैक्षिक छात्रवृत्ति , नैना नेपाल छात्रवृत्ति र माता दीनकुमारी स्मृति छात्रवृत्ति प्रदान समेत गर्ने छ । जसबाट ३ वटा विद्यालय र ३ वटा क्याम्पसका गरि १५ जना विद्यार्थीले नियमित छात्रवृत्ति प्राप्त गर्ने छन् । प्रतिष्ठानले समय सापेक्ष साहित्यकार जगतबहादुर जोशी, कमलराज रेग्मी , कुलमणि देवकोटा र कविन्द्रमान सिहको स्मृतिमा साहित्यिक कार्यक्रम गर्नुका साथै विभिन्न कृति प्रकाशन लोकार्पण र विमर्श कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानका संरक्षक प्रा. डा. प्रकाशराज रेग्मी सहितको उपस्थितिमा समय–समयमा मुटु तथा दन्त परीक्षण शिविर समेत सञ्चालन हुँदै आएका छन् । प्रतिष्ठानले हालसम्म सयौं व्यक्तित्वहरूलाई विभिन्न पुरस्कार ,सम्मान तथा अभिनन्दन गर्दै आएकोमा यस वर्ष यही मंसिर २० गतेका दिन ११ जना नारी व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय भइसकेकोले नामावली एकैचोटि सम्मान कार्यक्रमका दिन सार्वजनिक गर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष रेग्मीले बताए ।


-1762576335.jpg)