पाल्पा, आउँदो बैशाखमा पाल्पा महोत्सव हुने भएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा यही बैंशाख १४ देखि २४ गतेसम्म पाल्पा महोत्सव हुन लागेको हो ।
‘सबैको उत्सव, पाल्पा महोत्सव’ भन्ने अभिप्रायका साथ १३ औं संस्करण आयोजना गर्न लागिएको आयोजक संस्था पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ । जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय र सांस्कृति क्षेत्रको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । उनले भने ‘ हामी महोत्सव गर्ने मिति तय गरेका छौं, अब छिट्टै उपसमितिहरु गठन गरी तयारी अगाडि बढाउँछौं ।’
संघले महोत्सवका लागि स्थान भने तय गरेको छैन् । विगतका महोत्सवहरु तानसेनको टुँडिखेलमा गर्दै आए पनि तानसेन नगर सरकारले मेला, महोत्सव गर्न रोक लगाएपछि अहिले कहाँ गर्ने भन्ने विषयमा संघले निर्णय गरिसको छैन् । ‘हामी महोत्सव कहाँ गर्ने भन्ने विषयमा निर्णय गरिसकेका छैनौ, छिट्टै स्थानको खोजी गरी उपयुक्त ठाउँ छनौट गर्ने छौं’ अध्यक्ष भट्टराईले भने । संघले बतासेडाँडा, श्रीनगर, बाँसटारी, गोर्खेकोट लगायतका स्थानको अवलोकनपछि मात्र उपयुक्त स्थान तय गर्ने जनाएको छ ।
पाल्पाली उद्योगी, व्यवसायीहरुको छाता संस्थाको रुपमा स्थापित संघले विगत लामो समयदेखि तानसेनमा मेला,महोत्सव आयोजना गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप संघले यस वर्ष पनि महोत्सव गर्न लागेको हो । संघले कोभिड १९ का कारण धरासय भएको उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई माथि उकास्न यस वर्षको महोत्सवले महत्वपूर्ण टेवा पुुग्ने विश्वास लिएको छ । कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धन गर्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने लक्ष्य पनि संघले लिएको छ । महोत्सवले चौतर्फी व्यवसायमा सहयोग गर्ने संघका अध्यक्ष भट्टराईले बताए । ‘सुस्ताएको व्यवसाय माथि उठाउन महोत्सवले इँटा थप्नेछ,’ उनले भने, ‘यसले व्यवसायीबीच सहकार्य गर्नेसमेत अवसर दिन्छ ।’ कोरोना महामारीका पर्यटन क्षेत्र ज्यादै चुनौतीपूर्ण बनेका बेला पुनः यसमा सुुधार ल्याउन महोत्सवले टेवा पुुग्नेमा उनले विश्वास व्यक्त गरे । ‘अब चाहिँ घुमघाम, व्यापार–व्यवसाय गर्ने वातावरण केही सहज भएको रहेछ भन्ने प्रचार गर्न महोत्सव आयोजना गर्न लागेका हौं,’ अध्यक्ष भट्टराईले भने, ‘हामी लामो समयदेखि मेला–महोत्सव आयोजना गर्दै आएका छौं, यसले यहाँको आर्थिक अवस्था चलायमान बनाउन सहयोग पुगेको छ ।’