Shittalpati
मगर एकता दिवसको सार्थकता

सोमबार देशैभर ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइएको छ । हरेक वर्षको फागुन १५ गतेलाई आदिवासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, साँस्कृतिक, सांगठनिक तथा राजनीतिक चार्डको रुपमा यो दिवस मनाउने गर्दछन् । ५२ प्रतिशत भन्दा बढी मगर समुदाय रहेको पाल्पामा पनि भव्य रुपमा यो दिवस मनाइएको छ । पाल्पा आफैमा मगरी कला संस्कृतिले धनी जिल्ला हो । मगरहरुको आधाभन्दा बढी जनसंख्या भए पनि परम्परागत कला संस्कृति दिनहुँ हराउँदै गएपछि मगर समुदायका संघ संस्थाहरु जर्गेनामा जुटेका छन् । यो अत्यन्त राम्रो कुरा हो ।

स्थानीय सरकारहरुले पनि मगरी संस्कृतिको संरक्षण गर्ने उद्देश्यले दिवसका दिन सार्वजनिक विदा दिएका छन् । यसले पनि स्थानीय सरकारले स्थानीय संस्कृतिप्रति देखाएको चासोलाई प्रतित गर्दछ । मगरहरुको ऐक्यबद्धतालाई संस्थागत स्वरुप प्रदान गर्न र सम्पूर्ण मगरहरुको हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न वि.सं. २०३९ साल फागुन १५ गते नेपाल मगर संघको स्थापना भएको हो । हरेक वर्ष विश्वभरी छरिएका मगरहरुले अत्यन्त हर्ष, उल्लास, उमंग र जोशका साथ मगर दिवस धुमधामले मनाउने गर्छन् । पुरानो आदिवासी समुदाय मध्येको एक मगर समुदाय हो । नेपालको एकिकरणको बेलादेखि अहिलेको अवस्थासम्म देश निर्माणमा मगरहरुको ठूलो योगदान र बलिदान रहेको इतिहासमा उल्लेख छ । मगरहरुलाई वीर धर्तीपुत्रहरुको नाममा चिनिने गरिन्छ । परापूर्वकालदेखि मगर समुदाय भाषा, संस्कृति, पहिरन र परम्परामा निकै धनी छन् । तर पछिल्लो समय मगरी संस्कृति लोप हुँदै जान थालेकाले मगर समुदाय चिन्तित बनेको छ । मगरी संस्कृति देशको पनि पहिचान भएकाले सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ । आर्थिक अभाव र पुुस्तान्तरण हुन नसक्दा परम्परागत मगरी संस्कृति हराउँदै गएका हुुन् । संस्कृति संरक्षणका लागि हरेक वर्ष मगर दिवस मनाईए पनि यसले सार्थकता पाउन सकिरहेको छैन् । दिवसलाई औपचारिकता दिनका लागि मात्र दिवस मनाइनुले कुनै अर्थ राख्दैन । दिवसका दिन सम्पूर्ण संघ संस्थाहरुले विगतका वर्षहरुमा मगर समुदायको सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक तथा राजनैतिक उत्थान एवं विकासका लागि के–कस्तो भूमिका खेलेको छ सो सम्बन्धमा समीक्षा गर्ने र मगर समुदायको हक हित र अधिकारको के कसरी सुरक्षा गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल र बहस हुन जरुरी छ । त्यसो हुुन सक्यो भने मात्र राष्ट्रिय मगर एकता दिवस बनाउनुुले सार्थकता प्राप्त गर्न सक्छ । अन्यथा दिवस औपचारिकतामा मात्र सिमिति बन्दै जाने छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update