शर्मिला थापा मगर
पाल्पा, आज ४१ औं राष्ट्रिय मगर एकता दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइदैं छ । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, संघ संस्थाले दिवस भव्यरुपमा मनाउन लागेका हुन् ।
५२ प्रतिशत भन्दा बढी मगर समुदाय रहेको पाल्पामा पनि भव्य रुपमा दिवस मनाउन लागिएको छ । यहाँका विभिन्न मगर समुदाय, संघ संस्थाहरुले छुट्टाछुुट्टै कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । जिल्लाका १० वटै स्थानीय तहका मगर समुदायले छुुट्टाछट्टै कार्यक्रम गर्दैछन् । यहाँको माथागढी गाउँपालिकाको सराईमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । नेपाल मगर संघ माथागढी गाउँपालिकाले माथागढी गाउँपालिकाको सहयोगमा विभिन्न साँस्कृतिक झल्कने खालका कार्यक्रमहरु गर्दैछ । मगर समुदायको बाहुल्यता रहेको माथागढीमा मगरी खानाका परिकारसँगै मगरको पहिचान झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम गर्न लागिएको संघका जिल्ला अध्यक्ष तथा माथागढी गाउँपालिका–३ का वडाध्यक्ष तेज घर्ती मगरले बताए । उनले मगर समुदायको मौलिक कला संस्कृति र पहिचानको प्रचार–प्रसार गर्ने र संरक्षण गर्ने उद्देश्यले दिवसका दिन कार्यक्रम गर्न लागिएको एनजेडीलाई बताए ।
अध्यक्ष घर्तीले मगर जातीको भाषा, संस्कृति बचाई राख्नका लागि कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सचेतनाका झाकी, र्याली निकालिनुको साथै मगरी विभिन्न खानाका परिकारहरुको प्रदर्शनी समेत रहेको छ । यस्तै रामपुरमा पनि वृहत्त कार्यक्रम हुँदैछ । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुरले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रामपुर नगरपालिकाको मुख्य बजार बेझाँडमा कार्यक्रम गर्दैछ ।
कार्यक्रममा मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठूलो नाँच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकी देखाईने समाजका अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गीले बताए । कार्यक्रमको अवसरमा विभिन्न मगरी खानाका परिकारहरु विक्री तथा प्रर्दशनी पनि रहने छ । आज युवाहरुको सहभागितामा सद्भाव र्याली पनि निकालिदैछ । यहाँका तानसेन, रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ, बगनासकाली, रम्भा, पूर्वखोला, निस्दी गाउँपालिकामा समेत विभिन्न कार्यक्रमहरु हुँदैछन् । दिवसको अवसरमा यहाँका सबै स्थानीय तहहरुले सार्वजनिक विदा समेत दिएका छन् । उनीहरुले सूचना नै निकालेर विदा दिएका हुन् ।
आज स्थानीय तहका सम्पूर्ण कार्यालयहरु, गाउँ/नगर कार्यापालिका मातहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको छ । २०३९ साल फागनु १५ गते नेपाल लांघाली परिवार संघको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन शुरु गरेका हुन् । मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर संघसंगै विदेशमा रहेका मगरसँग आवद्ध संघ संस्थाहरुले समेत मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् ।