पाल्पा, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र उतारचढावका बीच सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आइतबार चार दशमलव ५५ अंकले बढेर दुई हजार २७ विन्दुमा कायम भएको हो ।
एक हजार नौ सय ६३ को न्यूनतम विन्दुसम्म झरेको परिसूचक सम्हालिएर बजार बन्द हुने बेला केही अंकले बढेको हो । नेप्सेका अनुसार आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार आठ सय ५२ कित्ता शेयर ५० हजार पाँच सय ३२ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय बराबरको कारोबार भएको छ । आइतबार बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने अरु समूहको उपसूचक बढेको छ । बैंकिङ समूह ११ दशमलव ९१, जीवन बीमा समूह १३ दशमलव ९६, उत्पादन समूह १४ दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह ३० दशमलव ५० अंकले घटेको छ । आज लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै एक सय आठ दशमलव ४५ अंकले बढेको छ । त्यस्तै विकास बैंक समूह ३० दशमलव २०, वित्त समूह २३ दशमलव ९०, होटल तथा पर्यटन समूह ७२ दशमलव २१ र जलविद्युत समूह १८ दशमलव ८८ अंकले बढेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव ३९, निर्जीवन बीमा समूह २७ दशमलव ५९ र अन्य समूहको उपसूचक आठ दशमलव ३४ अंकले बढेको छ ।