पाल्पा, जिल्लाको रम्भा गाउँ सरकारले सार्वजनिक सुनुवाई गरेको छ । उसले सहयात्रा विकास केन्द्र नेपालको सहजीकरणमा आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्मको कार्यक्रम, योजना र सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरेको हो ।
पालिकाले प्रदान गर्दै आएका सेवा सुविधामा आम नागरिकको पहुँच वृद्धि तथा गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । अध्यक्ष भण्डारीले कार्यक्रममा सेवाग्राहीहरुले दिएका सुझाव र जिज्ञासाहरुलाई पालिकाले आगामी दिनमा कार्यान्वयन गर्दै लैजाने बताए । पालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्मको कार्य प्रगति विवरणलाई आधार मानेर पहिलो ६ महिनाको आर्थिक प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत भक्तुजङ्ग रानाले रम्भा गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गरेका कार्यप्रगति पेश गरेका थिए । त्यस्तै लेखा अधिकृत पोष्टराज न्योपानेले ६ महिना अवधिको करिव २ करोड ५० लाख रुपैयाँ खर्च भएको आर्थिक प्रगति विवरण पेश गरे । सार्वजनिक सुनुवाईमा सेवाग्राहीहरु तुल्सीराम राना, धातानन्द बस्याल, भिमबहादुर सारु, नारायण भट्टराई, हरि बस्याल धनबहादुर नेपाली, धनबहादुर पौडेल, धनबहादुर नेपाली, रेवत राना, ज्ञानबहादुर बराल, तिलबहादुर आले लगायतले पालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विभिन्न शाखाहरुमार्फत हुँदै आएका सेवाप्रवाहका विषयमा प्रश्न सहित आगामी दिनका लागि सुझाव सल्लाह समेत राखेका थिए । सार्वजनिक सुनुवाईमा गाउँपालिकाको भवन निर्माण, वडा कार्यालयमा स्थायी कर्मचारीको अभाव, कृषि क्षेत्रको कार्य प्रभाव, सडकहरुको स्तारोन्नती, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा थप सुधारका लागि तालिम, उत्पादित सामग्रीको बजारीकरणको सुनिश्चितताका विषयमा सेवाग्राहीले प्रश्न तथा सुझाव राखेका थिए । सेवाग्राहीहरुका जिज्ञासाहरुको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भक्तुजङ्ग राना, वडा १ का अध्यक्ष इश्वरी काफ्ले, वडा ३ का अध्यक्ष थमनबहादुर गाहा, लेखाअधिकृत पोष्टराज न्यौपाने, शिक्षा अधिकृत मिनादेवी आचार्य, स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्याल, प्राविधिक मुक्तबहादुर फाल, रोजगार संयोजक रबिन महर्जन, कृषि प्राविधिक पुजा गुरुङ्ग लगायतले सहजीकरण गरेका थिए ।