२१ फेब्रुअरीलाई मातृभाषा दिवसका रूपमा मनाइन्छ । मगलबार पनि विविध कार्यक्रमहरु गरी यो दिवस मनाइएको छ । विश्वभरि शान्ति र बहुभाषिकतामा वृद्धि गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष २१ फेब्रुअरीमा मातृभाषा दिवस सन् २००० देखि निरन्तर रूपमा मनाइँदै आएको छ । सन् १९५२ बंगलादेशमामा बंगाली भाषा आन्दोलनमा भएको सहादतको स्मरण र सम्मान गर्दै यो दिवस मनाउने गरिएको हो ।
युनेस्कोको साधारणसभाले सन् १९९९ को नोभेम्बरमा मातृभाषा दिवस मनाउने घोषणा गर्यो । त्यसैगरी मे २००९ मा संयुक्त राष्ट्रसंघले संसारभरिका मानिसले बोल्ने भाषाहरूको संरक्षण र सुरक्षा गर्न आफ्ना सदस्य राष्ट्रहरूलाई अनुरोध गर्दै विशेष प्रस्ताव पारित गर्यो । राष्ट्रसंघको विशेष प्रस्ताव अनुसार नै दिवसले निरन्तरता पाएको छ । हरेक वर्ष दिवस मनाइए पनि रैथाने भाषाको रुपमा पहिचान बनाएका मातृभाषाहरुको संरक्षणको मुद्दा भने आज दिनानुदिन कमजोर बन्दै गैरहेको छ । यो अत्यन्त दुःखको कुरा हो ।
नेपालभर बोलिने भाषाहरुको पहिचान र अस्तित्वलाई हेर्दा हाल स्थानीयरुपमा बोलिने भाषाहरुको संख्या १३१ रहेको छ । जुन संख्या एक दशकअघिसम्म १२३ मात्रै थियो । यस अवधिमा देशभित्र ठाउँ–ठाउँमा बोलिने मातृभाषामा केही नयाँ भाषाहरु थपिएको देखिए पनि विस्तृतरुपमा अझैसम्म खोज अनुसन्धान हुन भने सकेको छैन । पहिला नै समुदाय र भूगोलविशेष बोलिने कतिपय भाषाहरु लोप हुँदै गएको सन्दर्भमा नयाँ थपिएका भाषाहरुले राज्यको संरक्षकत्व प्राप्त गर्छन् भनेर सुनिश्चित हुने आधार त्यति देखिँदैन । नेपालमा रहेका ३७ भाषाहरु त केवल एक हजारभन्दा कमले मात्रै बोल्ने गरेका छन् । जसमध्ये २३ भाषाहरु संकटपूर्ण अवस्थाबाट गुज्रिन बाध्य छन् ।
स्थानीय भाषाहरुको प्रयोग देशका केही स्थानीय सरकारहरुले निर्धारित गर्ने पाठ्यपुस्तकमा समावेश नगरिएको पनि होइन, यद्यपि अझसम्म त्यसलाई समुदायगत हिसाबले बृहत्तरुपमा पाठ्यक्रममा समावेश गर्न भने सकिएको छैन । हरेक मातृभाषीका लागि आफ्नो भाषा प्राणभन्दा प्यारो हुन्छ । किनकि मातृभाषा संस्कृतिको संवाहक हो । यो पहिचानको मेरुदण्ड हो । शक्तिको स्रोत र शक्ति पनि हो । यो गुणस्तरीय जीवनोपयोगी आधारभूत शिक्षाका लागि आधार हो । त्यसैले मातृभाषाप्रति सबैले ठूलो आस्था राख्नुपर्दछ । नेपाली सरकारी कामकाजको मात्र भाषा नभएर व्यापक जनसम्पर्कको भाषा हो । यसको आफ्नै स्थान हुनुपर्दछ । देशमा लोपोन्मुख रहने खतरामा पुगेका भाषाहरुलाई लिपिबद्ध गर्न सकिने हो र बोलचाल हुने ठाउँ विशेष हेरेर त्यसलाई पाठ्यक्रममा समेत समावेश गर्न सकिने हो भने त्यसको संरक्षणसँगै संवद्र्धन हुन सक्ने कुरामा शङ्का गर्नुपर्दैन । यस्तो विषम अवस्थाबाट शिक्षा लिएर पनि भाषासँग सरोकार राख्ने निकायहरुले लोपोन्मुख भाषा संरक्षणमा तत्कालै काम गर्न जरुरी देखिन्छ ।