Shittalpati
मोबाइल पसलमा भएको चोरीको घटनाप्रति पाल्पाली मोबाइल संघको ध्यानाकर्षण

पाल्पा, काठमाडौंको एक मोबाइल पसमा भएको चोरीको घटनाप्रति प्रस्तावित पाल्पाली मोबाइल संघले ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलनको क्रममा भएको घटनालाई अमानवीय ठहर गर्दै संघले विज्ञप्तीमार्फत ध्यानाकर्षण भएको जनाएको हो ।

‘केही व्यक्तिहरुको समूहले आतंकारकारी शैलीमा मोबाइल पसलहरुमा गरेको लुटपाटको घटनाले हामीलाई दुखित तुल्याएको छ’ प्रेस विज्ञप्तिमा भनिएको छ । खुलेआम रुपमा अपराधी किसिमबाट समूह बनाई पसलहरुमा डाका शैलीमा पसल नै तोडफोड गरी सामान लुटपाट गरेको घटनाले सम्पूर्ण मोबाइल व्यवसायी असुरक्षित भएको महशुस गरिएको संघले जनाएको छ । ‘यस्ता घटनाले जनताको जिउ, धन प्रति गम्भिर खतरा उत्पन्न भएको छ । यसको सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हो, यसलाई रोक्न नसक्नु दुर्भाग्यपूर्ण र अति सम्वेदनशील विषय बनेको छ’ अध्यक्ष युवराज शर्मा र सचिव सन्दिप पाण्डेद्वारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

घटनाको तत्काल छानविन गरी अपराधीहरु पत्ता लगाई कानूनको दायरामा ल्याई कारवाही गर्न र पिडित व्यवसायीलाई क्षतिूर्ति उपलब्ध गराउन समेत संघले सरकार समक्ष माग गरेको छ । पाल्पाली मोबाइल व्यवसायी संघले काठमाडौंमा जारी व्यवसायीहरुको आन्दोलनप्रति एक्यबद्धता समेत जनाएको छ । आगामी दिनमा चोरीका घटनाहरु घट्न नदिन सुशासनको प्रत्याभूति दिने गरी कदम चाल्न पनि सरकारलाई संघले आग्रह गरेको छ । फागुन १ गते यातायात मजदूर संघले गरेको सरकारविरुद्धको आन्दोलनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा रहेको लोत्से मलमा तोडफोड गरी मोबाइल चोरी भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update