पाल्पा, सरकारले पाल्पासहित देशका विभिन्न थप ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ सहित देशका ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।
सरकारले गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४, लिखु गाउँपालिका–४, काभ्रेपलान्चोकको मण्डनदेउपुर–६ र बेथानचोक–२, म्याग्दीको रघुगंगा–२, जुम्लाको तातोपानी गाउँपालिका–२, दार्चुलाको अपि हिमाल–४ मा औद्योगिक ग्राम घोषणा गर्ने भएको हो । सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य अनुरुप थप स्थानमा बनाउने निर्णय गरेको छ । विगतमा सरकारले औद्योगिक ग्राम घोषणा गर्दै आएपनि घोषित क्षेत्रमा भने अझै पनि आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन ।
शुक्रबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले औद्योगिक क्षेत्र घोषणासँगै बर्ड फ्लु रोगको नियन्त्रणका क्रममा आ.व. २०७९ मा प्रचलित कानुन बमोजिम नष्ट गरिएको वस्तुहरुको लागि राहत प्रदान गर्ने भन्ने कुरालाई कार्यविधि बनाएर राहत प्रदान गर्ने, बिदालाई व्यवस्थित गर्न यस पटक २ वटा बिदा थपेर गत वर्षकै बिदा दिने तर आगामी वर्षका लागि भने बिदा व्यवस्थित गर्न पुनरावलोकन गरी अघि बढ्ने निर्णय भएको समेत बताइन् । उनका अनुसार सरकारले २०७९ साल फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकाकर परिषद्को ५२ औं सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन जान स्वीकृत दिने निर्णय भएको छ ।