पाल्पा, पछिल्ला केही दिन यता धमाधम कम्पनीहरुले आइपीओ खुला गरिरहेका छन् । लगानीकर्ताहरुको यसतर्फ आकर्षण बढ्दै गएपछि कम्पनीहरुले सेयर विक्री खुला गरिरहेका हुन् । यसैबिच मोलुङ हाइड्रोपावरले पनि बिहीबार अर्थात् फागुन ४ गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५ सय कित्ता आइपीओ जारी गरेको हो ।
कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४ सय २५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५ सय ७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६ सय ५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन् । यस मध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८ सय ५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । आवेदकहरुले यसमा फागुन १० गतेसम्म आवेदन दिन सक्ने छन । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस्तै मेन्छियाम हाइड्रोपावर लिमिटेडले पनि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने तयारी गरेको छ ।
कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को विक्री खुला गर्न लागेको हो । कम्पनीले ५४ करोड २५ लाख ८३ हजार तीन सयको १० प्रतिशत अर्थात् पाँच करोड ४२ लाख ५८ हजार तीन सय बराबरको प्रतिशेयर एक सय दरका पाँच लाख ४२ हजार पाँच सय ८३ कित्ता शेयर आयोजना पीडित क्षेत्र संखुुवासभावासीका लागि निष्कासन गर्न लागेको हो । त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने एक लाख आठ हजार पाँच सय १७ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । स्थानीय लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।