इमान सिं राना
पाल्पा(रामपुर),रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुरले आफ्ना सेवा क्षेत्रका पालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणबाट जोगाउन घोषणा गरिएको लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि सहकारीले राहत स्वरुप पालिकाहरुलाई खाद्यान्न सहयोग गरेको हो । राहत वितरणमा सरकारले एक द्वार प्राणाली अवलम्बन गरे सँगै संघ संस्थाहरुले प्रकोप व्यवस्थापन कोषमा नगद तथा जिन्सी सहयोग गर्दै आएका छन् ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापालाई सहकारीका अध्यक्ष रामजुप्रसाद श्रेष्ठले, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, संस्थाका पदाधिकारी, पत्रकार लगायतको रोहबरमा राहत सामग्री हस्तान्तरण गरेका थिए । संस्थाको कार्यक्षेत्र रहेको रामपुर नगरपालिका, निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका १ का लागि खाद्यान्न लगायतका सामग्री वितरण गरेको अध्यक्ष राजुप्रसाद श्रेष्ठले जानकारी दिए ।
सहकारीले रामपुर नगरपालिकामा एक सय, निस्दी गाउँपालिकामा एक सय र पूर्वखोला गाउँपालिका १ मा पचाँस घरपरिवारका लागि तेल, नुन, दाल लगायतका खाद्य सामग्री सहयोग गरेको व्यवस्थापक रामचन्द्र अधिकारीले बताए । सरकारीको सहयोग ग्रहण पश्चात धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख रमणबहादुर थापाले विश्वका सुविधा सम्पन्न देशलाई नै कोरोनाले चुनौति दिईरहेको सन्दर्भमा हाम्रो जस्तो विकासोन्मुख मुलुकमा लकडाउन पालना गर्नुको अर्को विकल्प नभएको बताए । उनले नगरपालिकामा विभिन्न संघ संस्थाहरुबाट नगद तथा जिन्सी सहयोग आईरहेको बताए । थापाले यस घडीमा सबै जुटेर कोरोना विरुद्धको लडाईमा लाग्नु आवश्यक रहेकोमा जोड दिए । नगरपालिका कार्यालयमा भएको राहत वितरण कार्यक्रमको सञ्चालन संस्थाका सचिव लेखनाथ शर्मा मरासिनीले गरेका थिए ।