Shittalpati

गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिकाभित्रका जनप्रतिनिधि र कर्मचारीहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक गुल्मी शाखाले बैंकहरुबाट प्रदान गरिने सेवा प्रवाहको विषयमा जानकारी दिने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सबैलाई वित्तीय पहुँचसम्म जोड्ने गरी साक्षरता कार्यक्रमलाई अगाडि बढाएको शखा प्रवन्धक गुडानिधी भुसालले बताए । ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ बैंकले प्रदान गर्ने वित्तीय सेवाहरुका विषयमा कार्यक्रमका सहभागीहरुलाई जानकारी गराईएको थियो । बैंकले गर्ने विभिन्न वित्तीय अवस्थाहरुको विषयमा बैंकका सहायक प्रमुख विजया कर्मचार्यले जानकारी गराएकी थिइन् । कार्यक्रममा नोटलाई कसरी सुरक्षित र नक्कली नोटलाई कसरी चिन्ने भन्ने विषयमा बैंकका क्यासियर कृष्ण पण्डेले जानकारी गराएका थिए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले राष्ट्रिय वाणिज्य बैंक जनताको बैंक रहेको बताए । उनले नाफा भएपनि सरकारलाई फाइदा हुने र घाटा भएपनि सरकारलाई हुने भएकाले यो बैंक जनताको बैंक रहेको धारणा व्यक्त गरे । उनले पहिले अन्य बैंकहरु नहुँदा कठिनपूर्ण अवस्थाबाट सेवा प्रदान गर्दै आएको बैंक हाल प्रविधिमैत्री सेवा सहित छिटो छरितो सेवा प्रवाह गरेकोमा धन्यवाद समेत दिए । कार्यक्रममा जनप्रतिनिधिले बैंकले दिने सेवा प्रवाहमा छिटो छरितो र नम्र व्यवहार हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण बैंकका कर्मचारी राधिका खवासले गरेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update