Shittalpati
मायाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

पाल्पा, मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको छ । हाइड्रोपावरले यही माघ १३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको हो ।

कम्पनीलेयसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरिसकेको छ । अब सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता सेयर आईपीओमार्फत निष्कासनका लागि छुट्याएको थियो । त्यसमध्ये कम्पनीले यसअघि १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र दुई लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । कम्पनीले एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ । ४८ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतममा एक लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । उक्त आईपीओमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागानुसार आवेदन नपरेमा माघ २७ गतेसम्म आवेदन मिति लम्बिने बताइएको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update