Shittalpati
पेट्रोलियम पदार्थको मूल्य यथावत्

पाल्पा, भारतबाट पेट्रोलियम पदार्थको मूल्यमा केही हेरफेर भएर आए पनि नेपालमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् रहेको छ । इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट सोमबार पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा केही घटेर आएको भए तापनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको जनाएको हो ।

निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिण्डर ३५९.५० रुपैयाँ घाटा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि सञ्चित नोक्सानीमा सञ्चालन हुँदै आएको निगमले जनाएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न अझै चुनौतिपूर्ण अवस्था रहेको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

नेपाल आयल निगमले सरकारलाई ८८ करोड रुपैयाँ बुझाएको छ । नेपाल सरकारसँग लिएको ऋणको तिर्नुपर्ने पहिलो किस्तावापत ७० करोड र पुससम्मको ब्याज १८ करोड रुपैयाँ सरकारलाई बुझाएको हो । २०७९ असार अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले ऋण तिर्ने सीमा ५ वर्ष राखेर निगमलाई ऋण दिने निर्णय गरेको थियो । वार्षिक ५ प्रतिशत ब्याजदरमा सरकारले दिएको ऋणको पहिलो किस्ता र ब्याज बुझाइएको निगमले जनाएको छ । रुस र युक्रेन युद्वले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर माथि पुगेपछि निगमको घाटा चुलिएको थियो । पाक्षिक नोक्सानी ४ अर्ब ६४ करोड रुपैयाँ पुगेपछि निगमले आईओसीबाट खरिद गरेको इन्धनको भुक्तानी गर्न सकेन ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update