Shittalpati
एक महिनामै आठ बैंक गाभिए

पाल्पा, पछिल्लो समय बैंकहरु धमाधम मर्ज हुने क्रम बढेको छ । राष्ट्र बैंकले बैंकहरु मर्ज गर्ने नीति ल्याएसँगै धमाधम बैंकहरु मर्ज हुन थालेका हुन् । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् । थप दुई वाणिज्य बैंकहरु पनि मर्जरको चरणमा छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकिकृत कारोबार सुरु गरेका छन् । दुई बैंकबीच सेयर स्वाप अनुपात १००ः९० छ । मर्जरपश्चात् बैंकको कुल चुक्ता पुँजी ३४ अर्ब १२ करोड, कुल पुँजी ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति चार खर्ब ७१ अर्ब रहेको छ । त्यसैगरी कुल निक्षेप ३ सय ६० दशमलव दुई अर्ब तथा कर्जा लगानी ३ सय २९ दशमलव ०६ अर्ब पुगेको छ । कुल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा देशकै ठूला वाणिज्य बैंकमध्येको अग्रणी बैंक बनेको छ ।

पुस महिनामा कुमारी र एनसिसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी बैंकले पनि एकापसमा गाभिएर एकीकृत कारोबार सुरु गरिसकेका छन् । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक मर्जरपश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । दुई बैंक १ः१ शेयर अनुपातमा मर्जर भएका हुन् । एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी २६ अर्ब २३ करोड, कुल निक्षेप तीन खर्ब २ अर्ब र कर्जा दुई खर्ब ८० अर्ब पुगेको छ । मर्जरपश्चात् शाखा संख्या तीन सय छ, एटिएम संख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् ।

यस्तै ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पनि एकिकृत कारोबार सुरु गरेका छन् । यही पुस २५ देखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड पुगेको छ । यस आधारमा पनि यो बैंक सबैभन्दा ठूलो भएको छ । एकीकृत कारोबारपछि बैंकको कुल पुँजीकोष ५७ अर्ब पुगेको छ । निक्षेप संकलन चार खर्ब १० अर्ब, कर्जा प्रवाह चार खर्ब र कुल सम्पत्ति पाँच खर्ब पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पु¥याएको छ । हाल ग्लोबल आइएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् । त्यस्तै प्रभु र सेञ्चुरी बैंक मर्ज भएर यही पुस २६ गतेदेखि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच एक बराबर एक सेयर रहने गरी एकापसमा गाभिएका हुन् । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी २३ अर्ब ५२ करोड पुगेको छ । एकीकृत कारोबारपछि प्रभु बैंकको कुल सम्पत्ति तीन खर्ब ४० अर्ब, चुक्ता पुँजी २२ अर्ब, कुल निक्षेप दुई खर्ब ८४ अर्ब र कुल कर्जा प्रवाह दुई खर्ब ५३ अर्ब पुगेको छ ।

त्यस्तै ग्राहक संख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ । यसैगरी लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जरका लागि सम्झौता गरेका छन् । पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित हुने भएपछि बैंकहरू हतार–हतार मर्ज भएर एकीकृत कारोबार सुरु गर्न थालेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update