स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भएको छ । स्थानीय सरकारका लागि पहिलो पाँच वर्ष सिकाई र अभ्यासमै वित्यो । संघीय संरचना नयाँ भएकाले पनि स्थानीय सरकार सञ्चालनमा केही कठिनाई पक्कै पनि आए । त्यसैले पनि पहिलो पाँच वर्षलाई सिकाईको रुपमा लिनुलाई अन्यथा लिनु हुँदैन । तर पनि यस बिचमा केही कामहरु पनि नभएका भने होइन । विगतका समस्या, अभाव, जटिलता विस्तारै सहज हुँदै पनि गएका छन्, जुन सकारात्मक पक्ष हो । स्थानीय तहका योजना, कार्यक्रम, विकास निर्माणका योजना तर्जुमादेखि कार्यान्वयनसम्मका सबै चरण आफ्नै नजिकको घर, बाटो, टोल, छिमेकमा भएका छन् । तर यो आफैमा पर्याप्त होइन । जुन रुपमा काम हुनुपर्ने हो त्यो चाहि पक्कै पनि नभएको हो ।
जनताको आकांक्षा हुन्छ– जनप्रतिनिधिले आफ्ना पिरमर्का बुझ्नु र सेवा प्रवाहमा सहजता ल्याइदिउन् तर आमनागरिक तथा सेवाग्राहीको अपेक्षा सम्बोधनमा भने स्थानीय सरकार चुकेका छन् । तीन तहका सरकार मध्ये स्थानीय सरकारमा नै जनताको भरोसा हुने गर्दछ । यो नजिकको सरकार पनि भएकाले जनताको अपेक्षा स्थानीय सरकारसँग हुनु स्वभाविक पनि हो । पालिकाहरू जनताका सेवा र तिनका सरोकारका विषयसँग जोडिएका हुन्छन् । त्यसैले पनि स्थानीय निकाय सबल बन्नुपर्छ । यो आमजनताको चाहना पनि हो । जनताले स्थानीय सरकारबाट ठूलो अपेक्षा पनि गरेका हुँदैनन् । ति अपेक्षाहरुलाई सहजै पुरा गर्न सकिन्छ । तर स्थानीय सरकार जनतालाई ठूला ठूला सपना देखाएर भ्रममा पार्ने प्रवृत्ति छ । स्थानीय र जनताको आवश्यकतालाई भन्दापनि अन्य ठाउँको भन्दा फरक र नमूना काम गरेर देखाउने ध्याउन्नमा अहिलेका स्थानीय सरकार चलेका छन् । यो दुर्भाग्य हो । स्थानीय सरकारले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु पर्दछ । यसो भयो भने मात्र जनताको अपेक्षा सम्बोधन हुने र स्थानीय सरकारप्रति जनताको भरो बढ्ने छ । यसतर्फ स्थानीय सरकारले अब सोच्न ढिलाई गर्नु हुँदैन ।