
तिज नेपाली महिलाहरुको महान चाड हो । धर्म ,परम्परा र साँस्कृतिक पक्षमा फरक महत्व राखेता पनि आजभोली यो पर्र्व महिला एकता,महिला सशक्तिकरण,महिला चेतनाको पर्वको रुपमा विकसित हुँदै गएको देखिन्छ । हिजो कुनै जाती, भाषा ,धर्म ,लिड्ढ र क्षेत्रमा मात्रै सिमित यो पर्व आज सबै नारीहरुबिच एकताको पर्वको रुपमा विस्तार हुँदै गएको देखिन्छ । हिजो महिलामा मात्रै सिमित यो पर्व आज महिला पुरुष दुवैमा उत्तीकै महत्व राखेको देखिन्छ । दिदी बहिनीहरुसँगको भेटको रुपमा लिईने यस पर्वको वैज्ञानिक सम्बन्ध रहेको देखिन्छ । आज भोली विश्वव्यापिकरण, सोसल मिडिया ,डिजिटल जमानाका काराण यो पर्व मनाउने तौर तरीकामा ठूलो भिन्नता देखिन्छ । यस पर्वको परम्परागत महत्व, यस पर्वको साँस्कृतिक, मौलिक र धार्मिक पक्ष तथा तिज पर्व हिजो र आज कुन अवस्थामा रहेको छ । यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
तिज पर्वको पृष्ठभूमि : तिज सदियौंदेखि चल्दै आएको नेपालको मौलिक र जीवन्त संस्कृत्ति हो । यो हाम्रो वैदिक सनातन धार्मिक परम्परा पनि हो । स्कन्दपुराणमा उल्लेखित कथन अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन दिएका थिए तर पार्वतीलाई विष्णु भगवानसँग विवाह गर्न मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गलमा गएर शिवजीको कठोर तपस्या गरेको र उक्त तपस्याले एक सय वर्ष समय पार गर्दा पनि आफूले गरेको तपस्याको फल नपाएपछि एक दिन उनले बालुवाको शिव लिड्ढ स्थापना गरि निराहार व्रत बसिन् । यसरी पार्वती कठोर व्रत बसेको कारण कैलाश पर्वतमा रहेका शिव भगवान तपस्या स्थलमा प्रकट भै चिताएको कुरा पुराहोस् भनेर पार्वतीलाई आर्शिवाद दिएको र सोहि आर्शिवादकै कारण शिव पार्वतीको विवाह हुन् पुगेको किम्मदन्ती पाइन्छ । उक्त दिन भाद्र शुक्ल तृतीयाका दिन पर्ने र सोहि दिनको सम्झनामा हिन्दु नारीहरुले हरीतालीका तिज पर्वको रुपमा मनाउदै आएको धार्मिक कथन रहेको छ । यहि धार्मिक मान्यताका आधारमा तिजको अघिल्लो दिन शक्ति प्राप्तिका लागि मिठो र अडिलो परिकारका रुपमा दर खाने र अर्को दिन विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु र सुस्वाथ्यको कामना गर्दै,अविवाहीत महिलाले राम्रो र सुयोग्य वर पाऊ भनी व्रत बस्ने चलन रहेको छ । यस पर्वमा विशेष गरेर भगवान शिवको आराधाना गर्नुका साथै, नाचगान र मिठो मसिनो खान, दुःख सुखका गफ गर्नका लागि आफ्ना दिदि बहिनीलाई दाजु भाईले घरमा निम्त्याउने परम्परा समेत रहेको छ ।
तिज पर्व हिजो र आज : पहिले पहिले सञ्चार, यातायात र शिक्षा चेतनाको अभावको कारण विवाह गरेर पठाएकी छोरी चेली आफ्नो घर व्यबहारमा नै केन्द्रीत हुने गर्दथे । बुहारी र सासु बिच फराकिलो सम्वन्ध हुने गर्दथ्यो । सासुहरु बुहारीका लागि तानशाहको रुपमा प्रस्तुत हुने गर्दथे । बुहारीलाई घरको काम देखाई माईत जान सहज तरीकाले दिइदैन्थ्यो । घरमै पुगेर अनुरोध गरेर भाका मागेर छोरी चेलीलाई माईत ल्याउनु पर्ने बाध्यात्मक अवस्था थियो । एक दुई छाक मिठो मसिनो खान र मनका पिडा पोख्ने पक्षमा मात्र यो केन्द्रीत थियो । विशेष गरेर पञ्चमीको अर्को दिन चेलिबेटीलाई घरमा फर्कन पर्ने समय अवधि तोकिन्थ्यो । बुहारीले आफुलाई परेको अप्ठ्यारो कतै व्यक्त गर्न र सुनाउने ठाउँ हुदैनथ्यो । तिज यस्तो पर्वको रुपमा थियो जुन बेला बुहारीले आफुलाई परेको पिर मर्का गीत मार्फत सुनाउने, बर्षाै नभेटिएका चेलीवेटीहरु भेट्ने दुःख सुःखका कुरा गर्ने, मिठो मसिनो खाने अवसर प्रदान गर्दथ्यो । सो समयमा तिज पर्वको महत्व विशिष्ट देखिन्थ्यो तर समय परिवर्तन शिल छ । नदीमा पानी धेरै बगिसकेको छ । त्यो विगतको परिस्थीती कथा जस्तो बन्न गएको छ । समय महिलामैत्री बन्दै गएको छ, ऐन, नियम, कानुन सोहि अनुकुलको बन्न थालेको छ । मिठो खान, राम्रो लगाउन, आफ्ना कुरा राख्न, आफन्तसँग भेटघाट गर्न तिज पर्व नै कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । दुर्गम ग्रामिण क्षेत्रहरुमा यसको मौलिकता कतै भेटिएता पनि शहर तिर भने यो पर्वमा आधुनिकता भित्री सकेको छ भने यसले तिज पर्वको गित, नाच ,दर, गरगहना कपडामा आदिमा परिवर्तन देखिएको छ । तिजको अघिल्लो दिन खाने दर दुई महिना अगाडि देखिनै होटल, रिसोर्ट र पाटी प्यालेसमा ठूलो रकम खर्च गरि खान थालिएको छ । दरमा मौलिकता हैन् आधुनिकता भित्रिएको छ । दरका नाममा मादक पदार्थ र विदेशी खाना खान थालिएको छ । तिजमा गाईने गितका शब्द र नाचमा आधुनिकता भित्रिएको छ । रहन सहन, भेषभुषा, गरगहनामा देखासिकी र प्रर्दशन प्रभाव परेको छ । दुख सुख साटासाट् गर्नुको सट्टा धाक धक्कु लगाउने र खर्चिलो बन्दै गएको देखिन्छ । यहि कारण तिज पर्वको परम्परा र मौलिकता जोगाई पुस्ता हस्तान्तरण गर्ने कुरामा समस्या सिर्जना भएको देखिन्छ ।
तिज पर्व र यो वर्ष : विगत केहि वर्षदेखि तिज पर्वलाई विकृत बनाउन र सस्तो लोकप्रियताका लागि गाईने कलाकारका गीतले यो बर्ष खासै चर्चा पाएको देखिएन् । आएका एक दुई वटा गीतलाई स्रोता र दर्शकले खासै महत्व दिएनन् । यो वर्ष धेरै कलाकारले मौलिकतालाई प्राथमिकतामा राखेर गीतहरु निकालेको देखिन्छ । बद्री पंगेनी ,पशुपति शर्माले यो वर्ष तीन वटा गीत सार्वजनिक गरे, रेश्म चौधरी, समिक्षा अधिकारी, अञ्जु गौतम, खेम सेन्चुरी सुनीता दुलाल, विष्णु माझीका गीतहरु लोकप्रीय भए गाँउ घरमा लगातार बझी रहे । तिज पर्वलाई प्राथमिकता दिएर गाउने विष्णु माझीको यो वर्षको गीत “म त नराउरी.........ले सबै भन्दा बढी चर्चा पायो । यो वर्ष होटल र रिसोर्टमा गएर तिज पर्व र दरको नाममा विदेशी खानामा रमाएको खासै देखिएन् । भड्कीलो, खर्चिलो र देखासिकी यो वर्ष खासै भित्रिएन । भेषभूषमा मौलिकता, धर्म संस्कृति, परम्परालाई प्राथमिकता राखि प्रयोग गरेको देखियो । विस्तारै हामी हाम्रा चाडपर्वहरु परम्परालाई आत्मसाथ गरेर मनाउन थालेका हौं की यो महशुस र अनुभूति गर्न पाएका छौं ।
निष्कर्ष : आधुनिकताका नाममा खर्चिलो र भड्किलो तिज पर्व होइन, मौलिक र परम्परागत तिज पर्वको अभ्यासको लागि महिला वर्ग नै लाग्नु पर्ने देखिन्छ । यस पर्वलाई गीत, नाच, दरमा केन्द्रीत नगरी महिला अधिकार, एकता, सशक्तीकरण यो पर्वको रुपमा रुपान्तरण गरिनु पर्दछ । तिज पर्वको मौलिकता र विशिष्ट पहिचानलाई जोगाई आलोचना र विकृतिबाट बचाई पुस्ता हस्तान्तरण गर्ने तर्फ केन्द्रीत हुनुपर्ने देखिन्छ । तिज गीत तिज गितकै रुपमा हुनुपर्दछ । होटल र रिसोर्टमा हैन्, विदेशी खाना र मादक पदार्थ संग हैन् हाम्रै परम्परा र पूर्खाले सुरुवात गरे अनुसार हुनुपर्दछ। कथित आधुनिकताको नाममा तिजको पहिचान नै गुम्ने स्थिती आउनु हुँदैन् । तिज पर्व मात्रै नभएर यो हाम्रो अमूल्य धरोहर र पहिचान पनि हो । तिज पर्वमा हिजोलाई जोगाउ,आजलाई हिजोमा परिणत गर्ने तर्फ लागौं । मितव्ययी बनौ । तिज पर्व २०८२ को अवसरमा सम्पूर्णमा शुभकामना ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)