Shittalpati
थापाको परिवारलाई क्षतिपूर्ति दिन प्रदेश सांसदका प्रत्याशी कार्कीको माग

पाल्पा । पाल्पा क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यका प्रत्याशी रामबहादुर कार्कीले मंगलवार एक विज्ञप्ती जारी गर्दै कोरोना अस्थायी अस्पतालमा मृत्यु भएका रिब्दीकोट गाउँपालिका –५, कुसुमखोला, सैटोला स्थायी घर भएका बावुराम थापाको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

नेपाल राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआइजी समेत रहेका कार्कीले अस्पतालको लापरवाहीले थापाको मृत्यु भएकोमा दुख व्यक्त गर्दै पिडित परिवारलाई अस्पताल, स्थानीय सरकार, प्रदेश सरकारले उचित क्षतिपूर्ति दिई उनको अन्तिम संस्कार गर्ने वातावरण बनाउँने कार्य छिटो गर्नुपर्ने माग गरेका हुन् । सैनामैना नगरपालिकामा अस्थायी बसोवास गर्दै आएका ३४ वर्षीय थापा उपचारका लागि बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेशन वार्डमा चैत १३ गते भर्ना भएका थिए । भर्ना भएका उनको उचित उपचार पाउन नसकी मृत्यु भएको खबरले मर्माहत तुल्याएको विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्कीले विज्ञप्तीमा भनेका छन्‘थापाको निधन भएको दशौं दिनसम्म पनि शव दाहसंकारका लागि वातावरण नबनाएको परिदृष्यले परिवारजनलाई थप पीडा भईरहेको छ । तसर्थ यस सम्वन्धमा कुनै विलम्व नगरी छानविन गर्न तथा पीडित परिवारलाई उचित राहत दिई अन्तिम दाहसंस्कार गर्ने वातावरण यथाशीघ्र बनाउन अस्पताल व्यवस्थापन, स्थानीय सरकार र प्रदेश सरकार समक्ष माग गर्दछु ।’ कार्कीले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै र अस्पतालको चरम लापरवाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । थापाको चैत १६ गते मृत्यु भएकोमा परिवारले अहिलेसम्म पनि उनको शव बुझ्न मानेका छैनन् ।

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update