Shittalpati
कोरोना विरुद्धको अभियानमा बेसले २५ स्थानीय तहलाई सहयोग गर्ने

इमान सिं राना
पाल्पा । पछौटेपन उन्मूलन समाज (बेस) नेपालले पाल्पा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका २५ स्थानीय तहलाई सहयोग गर्ने भएको छ । तीन जिल्लालाई कार्यक्षेत्र बनाई बाल अधिकारको वकालत, सचेतना संगै शिक्षा तथा मातृ शिशु स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्थाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस विरुद्धको अभियानमा स्थानीय तहलाई सहयोग गर्न लागेको हो ।

स्थानिय तहले चालेको अभियानमा ऐक्यवद्धता जनाउँदै सोमबार बसेको बेसको आपत्कालीन बैठकको २५ स्थानिय तहलाई दश÷दश हजार सहयोग गर्ने निर्णय गरेको हो । संस्थाले पाल्पाको रैनादेवीछहरा, रिब्दीकोट, तिनाउ, बगनासकाली, रम्भा, माथागढी, पूर्वखोला, निस्दी गाउँपालिक, रामपुर र तानसेन नगरपालिका, पश्चिम नवलपरासीको सुनवल, रामग्राम र बर्दघाट नगरपालिका, पाल्हीनन्दन, सरावल, सुस्ता र प्रतापपुर गाउँपालिका, नवलपरासी पूर्वको मध्यविन्दु, कावासोती, देवचुली र गैंडाकोट नगरपालिका, बिनयीत्रिवेणी, हुप्सेकोट, बुलिङटार र बौंदीकाली गाउँपालिकालाई सहयोग गर्ने निर्णय गरेको बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले जानकारी दिए । पाण्डेले सहयोग स्थानिय तहहरुको सक्रियता प्रतिको सम्मान र माहामारी विरुद्धको अभियानको ऐक्यवद्धता मात्र भएको बताए । सिमित स्रोत र साधनका विच स्थानीय तहप्रति जनताको विश्वास र भरोसा बढेर गएको भन्दै पालिकाहरुको बास्केट फण्डबाट खर्च हुने गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update