भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने र आर्थिक समृद्धि हासिल गर्ने भनि भाषण गरेर नेताहरू कहिल्यै थाक्दैनन् । सधैं निर्वाचन अघि जनतासामु यिनै कसम खाने नेताहरु जब सत्तामा पुग्छन् तब ति कसम कार्यान्वयन होइन की उल्टै उल्लङ्घन गर्न सक्रिय रहन्छ । जसले भ्रष्टाचार गर्नेहरुलाई समेत प्रश्रय पुगेको छ । भ्रष्टाचार नेपाली समाजमा यस्तो उद्योगका रूपमा मौलाउँदै गएको छ, जसमा न त लगानी जुटाउनुपर्छ न त प्रतिस्पर्धा नै गर्नुपर्छ । व्यावसायिक जोखिम मोल्नु नपर्ने, उद्यमशीलता नचाहिने, व्यावसायिक योजना बनाउनु नपर्ने, बिना उत्पादन र मार्केटिङ भ्रष्टाचार मौलाउँदो उद्योग बनेको छ । भ्रष्टाचार पैसा कमाउने अचुक अस्त्र बनेको छ । बिना कुनै उद्योग, बिना कुनै गतिलो व्यापार व्यवसाय अनि बिना कुनै अन्तर्राष्ट्रिय संस्थाको आकर्षक जागिर ती भाग्यमानी महाशयको दिन दुई गुणा रात चौगुणा यसरी आर्थिक अवस्थामा एकाएक भएको छलाङ नै भ्रष्टाचार हो । यसैको परिणाम दक्षिण एसियामै सर्वाधिक भ्रष्टाचार हुने देशको सूचीमा नेपाललाई चिनिन्छ । यो निकै चिन्ताको विषय हो । यस पटक पनि ट्रान्परेन्सी इन्टरनेसनलले नेपालको भ्रष्टाचारको कहालीलाग्दो अवस्था देखाएको छ ।
विगत वर्षमा पनि नेपालको अवस्था यस्तै हुने गरेको थियो । यस वर्ष पनि सुधार हुनुको सट्टा अझै अवस्था बिग्रिएर गएको देखाइएको छ । भ्रष्टाचारमा शून्य सहनशीलताको अवधारणा सुन्नमा निकै राम्रो लागे पनि त्यसको प्रयोग भने व्यवहारतः हुन नसक्नुले नै भ्रष्टाचारजन्य रोगलाई स्वतः हाबी बनाइरहेको छ । नेपालमा राजनीति गर्नेहरू प्रायः कुनै न कुनै रूपमा भ्रष्टाचारमा संलग्न हुने गरेको पाइन्छ । सिधासाधा व्यक्ति अब नेपाली राजनीतिमा अयोग्य सावित हुन पुगेका छन् । यो पनि यो भ्रष्टाचारको प्रकाष्ठ नै हो । डन, पैसावाला र भ्रष्टाचार गर्नेहरुको नै यहाँ हालिमुुहाली हुन थालेको छ । यो अत्यन्त दुखको कुरा हो । भ्रष्टाचारलाई विकास र समृद्धिको बाधकका रुपमा लिइने गरिएको छ । ठूलो रकमको अपचलन हुने स्थिति निर्माण हुँदा त्यसले देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढ्न दिँदैन । केही व्यक्तिमात्रै सधैं मोटाइरहने प्रवृत्तिकै कारण देश आज भ्रष्टाचार बढी भएका एक सय देशहरुको हाराहारीमा पर्न पुगेको छ, जुन दुर्भाग्य हो । सञ्चार माध्यमबाट पटक –पटक भ्रष्टाचारको अन्त्यका लागि खबरदारी नगरिएको होइन, तर राजनीतिक दलहरु सच्चिन सकेनन् । जसका कारण भ्रष्टाचार झन् झन् मौलाउँदै गएको छ । अब पनि भ्रष्टाचारको अन्त्य गर्न सकिएन भने न त देशको विकास हुन्छ न त समृद्धि नै । यसर्थ भ्रष्टाचार अन्त्यका लागि कडा भन्दा कडा कानुन बनाउनुुको साथै राजनीतिक दलहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न जरुरी छ ।