नेपाल आफैंमा पर्वतीय र प्राकृतिक छटाले भरिपूर्ण मुलुक हो । पर्वत, जल, जंगल, जमिन, जीवजन्तु र वनस्पति हाम्रा अमूल्य र अपार प्राकृतिक सम्पदा हुन् । हाम्रो मुलुकमा थुप्रै पर्वतीय क्षेत्रहरु छन् । पृथ्वीको २५ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ । विश्वको कुल जनसंख्याको करिब २० प्रतिशत मानिस यसै क्षेत्रमा बसोवास गर्छन् । पर्वतीय क्षेत्र स्वच्छ पानीको मुहान हो, जहाँबाट आउने पानी पिउन, सिंचाइ र जलविद्युत्को लागि उपयोग गर्न सकिन्छ । पर्वतीय क्षेत्र मुख्य खाद्य वस्तु उत्पादन हुने मूलस्थान पनि हो । यो क्षेत्र वन जङ्गलको प्रचुरता र जैविक विविधताको दृष्टिले धनी छ । पर्वतीय क्षेत्र पर्यटकको लागि आकर्षणको गन्तव्य पनि हो । धार्मिक र पवित्र क्षेत्रको रुपमा पर्वतीय क्षेत्रलाई लिइन्छ । आध्यात्मिक ज्ञानको भण्डारका रुपमा रहेको पर्वतीय क्षेत्र शान्तिको प्रतिक पनि हो । तर विश्वव्यापी जलवायु परिवर्तन र मानवीय गतिविधिका कारण पर्वतीय क्षेत्रका जमिन, जल, जलाधार, वन जङ्गल, जैविक विविधतामा ह्रास हुँदै आएको छ । यो अत्यन्त दुखको कुरा हो । यसको संरक्षणमा चासो नदेखाइएको होइन तर व्यवहारतः लागुु हुन सकेको छैन ।
हरेक वर्ष अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने गरिन्छ । आज यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष आजकै दिन (११ डिसेम्बर) मनाइने यो दिवस विश्वसामु यी महत्वपूर्ण तर उपेक्षित क्षेत्रको सम्मान गर्न आह्वान गर्ने दिन पनि होरु। यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको सन्देश ‘महिलाहरूले पर्वतलाई चलाउन सक्दछन्’ भन्ने हो । यसले विद्यमान जैविक विविधतामा अत्यन्तै ठूलो ह्रास ल्याउन सक्ने अनेक खतराप्रति ध्यानाकर्षण गराउँदै पर्वत जोगाउन हामीले गर्नुपर्ने साझा प्रयत्नको अपरिहार्यता पनि देखाउँछरु। पर्वतीय क्षेत्रहरू यथार्थमा जैविक विविधताका प्रचुर भण्डार हुन्रु। यी क्षेत्रमा पृथ्वीका उभयचर, पन्छी तथा स्तनधारी चौपायाहरूका ८५ प्रतिशत प्रजाति बसोबास गर्छन् । विश्वभरिका पर्वतशृंखलाले जलभण्डारको भूमिका निर्वाह गर्छन्, जलवायु नियमन गर्छन् र नदीप्रवाह क्षेत्रमा विविध जीवन तथा संस्कृतिलाई प्रश्रय दिन्छन् । पर्वती क्षेत्रहरुको अत्यन्त महत्व हुँदा हुँदै पनि अहिले यि क्षेत्रहरु खतरामा परेका छन् । यी क्षेत्रहरुको समुचित संरक्षण र प्रवद्र्धन गर्नु अहिलेको आवश्यकता हो । यी क्षेत्रमा पर्यटकीय गन्तव्य बनाएर लाखौं बाह्य पर्यटकको आकर्षण केन्द्र बनाउन सकिन्छ । यसका लागि दिगो व्यवस्थापन, कानूनी आधार निर्माण तथा कार्यान्वयनमा ध्यान दिनु पर्दछ । यसबाट त्यस्ता क्षेत्रको संरक्षण हुनुका साथै आर्थिक लाभको स्थायी आधार पनि तयार हुन्छ । यसर्थ तीनै तहका सरकारले पर्वतीय क्षेत्र जोगाउने विषयमा ध्यान दिन जरुरी छ ।