इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा विभिन्न संघ संस्था बाट रकम संकलन हुन थालेको छ । कोरोना भाईसर बाट संक्रमण बाट जोगाउन घोषणा गरिएको लकडाउन संगै प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि राहत वितरणमा सरकारले एक द्वार प्राणाली अबलम्बन गरे संगै नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम संकलन हुन थालेको हो ।
विपद व्यवस्थापनको लागि आईतबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले एक लाख र एकिकृत मगर उत्थान समाज रामपुरले ८२ हजार ३ सय ९० रुपैयाँ छुट्टै हस्तान्तरण गरेको छ । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले नगर प्रमुख रमण बहादुर थापालाई चेक रकम हस्तान्तरण गर्दै शेयर सदस्यहरु संग स्थानिय सरकार अझ नजिक रहने भएकाले उनीहरुको राहतका लागि सहयोग गरिएको बताए । देवकोटाले विपदको घडीमा रामपुर नगरपालिकाको लागि १ लाख र सेवा क्षेत्र अन्तर्गतका निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाका लागि ५०/५० हजार सहयोग गर्न लागेको बताए । संस्थाका सचिव ओम प्रकाश बस्यालले सरकारको एक द्वार प्रणालीलाई आत्मसात गर्दै सामाजिक कोष मार्फत रकम सहयोग गरिएको बताए ।
यता एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको तर्फ बाट समाजका अध्यक्ष राम बहादुर थापा हिस्की, नेपाल मगर संघ प्रदेश नं. ५ का सदस्य क्याप्टेन धन बहादुर राना, नेपाल मगर संघ रामपुरका कार्यवाहक अध्यक्ष दुर्गादेवी राना, मगर रेन्झा समुहका अध्यक्ष रामप्रसाद थापा र एकिकृत मगर उत्थान समाजका अक्षयकोष संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले नगर प्रमुख थापालाई नगद हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै एकिकृत मगर उत्थान समाजका अध्यक्ष राम बहादुर हिस्की थापाले कोरोनाको महामारीले विश्व नै आतंकित भएको विपदको घडीमा सबैले सहयोग गर्नु आवश्यक रहेको बताए । उनले यो विश्वको नै समस्या भएकाले आफ्नो ठाउँमा पनि केही राहत होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए । नेपाल मगर संघ रामपुरका कार्यवाहक अध्यक्ष दुर्गादेवी रानाले नगरपालिकाले आफ्नो तर्फ बाट लकडाउन बाट प्रभावित बनेका नागरिकको लागि राहत कार्यक्रम सञ्चालन गर्दै आएकोमा केही राहत मिलोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताए ।
एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका सचिव राम बहादुर रानाले समाजको अक्षयकोष, १७ वटा समुह बाट प्राप्त सहयोग, मगर रेन्झा समुह र सामाजिक व्यक्तित्वहरु बाट संकलन भएको रकम हस्तान्तरण गरिएको बताए । सहयोगी संस्थाहरुलाई धन्यवाद दिदै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नगरले पहिलो चरणमा १ हजार ६६ परिवारलाई राहत वितरण गरिरहेको बताए । उनले संघ संस्था बाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा केही भएपनि राहत मिल्ने बताए । थापाले विश्वका सुविधा सम्पन्न देशलाई नै कोरोनाले चुनौति दिईरहेको सन्दर्भमा हाम्रो जस्तो विकासोन्मुख मुलुकमा लकडाउन पालना गर्नुको अर्को विकल्प नभएको बताए । नगरले आफ्नो क्षमताले भ्याए सम्मको पहल नगरपालिकाले गरिरहेको भन्दै सके सम्म घर बाहिर ननिस्कन आग्रह गरे ।