कृष्ण पोखरेल
पाल्पा । रिब्दीकोट गाउँपालिकाले २ सय ८ जना अति विपन्न परिवार लाई राहत वितरण गरेको छ । दैनिक छाक टार्न कठिन भएका दैनिक ज्यालादारी गरी जीवनयापन गर्ने अति बिपन्न परिवारलाई गाउँपालिकाको निर्णयानुसार वडा स्तरीय राहत सिफारिस समितिको सिफारिसमा राहत वितरण गरेको हो । गाउँपालिकाले प्रतिपरिवार २० किलो चामल,२ किलो दाल, १ लिटर तेल र १ किलो नुन राहत स्वरूप उपलब्ध गराईएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताए ।
गाउँपालिकाले वडा नं १ बाट ३० परिवार ,वडा नं २ बाट २५ परिवार, वडा नं ३ बाट २० परिवार , वडा नं ४ बाट २६ परिवार , वडा नं ५ बाट २६ परिवार, वडा नं ६ बाट ३० परिवार, वडा नं ७ बाट २० परिवार र वडा नं ८ बाट ३१ परिवार गरी २ सय ८ जना बिपन्न परिवारले पहिलो चरणमा राहत प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम अर्जेलले बताए । राहत लिदै वडा न.३ खस्यौलीका सन्त बहादुरले बिकले राहत सामग्री केही दिनको लागी भए पनि चुल्हो बोल्ने बताए । राहत सामाग्री बुझ्दै माया सुनारले आफ्ना पति मृगौला पिडित भै घरमै बिरामी अवस्थामा रहेको र ५ जनाको परिवार आफूले नै ज्याला मजदुरी बाट गुजारा चलाउदै आएकोमा खर्च लकडाउनको समयमा काम गर्न समस्या परेको हुदा राहत खाधान्य पाउदा खुसी लागेको मायाँ सुनारले बताईन ।