Shittalpati
पाल्पामा बदर मत घटाउने प्रयास, ठाउँ–ठाउँमा ‘नमुना मतदान’

हाम्रा संवादाता
पाल्पा, पाल्पामा आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत संख्या कम गर्ने प्रयास गरिएको छ । यहाँका अघिल्ला निर्वाचनमा उल्लेख्य संख्यामा मत बदर भएपछि ‘बदर मत संख्या कम गर्न’ भन्दै जिल्लाभर ‘नमुुना मतदान’ भइरहेको छ । सकेसम्म कम संख्यामा बदर मत घटाउने नीति निर्वाचन आयोगले लिएको छ । सोही अनुसार पाल्पामा पनि त्यस्तो प्रयास गरिएको हो ।

अहिले जिल्लाका विभिन्न क्षेत्रमा नमुुना मतदानमार्फत सही तरिका सिकाइएको छ । केही स्थानीय तहमा नमुना मतदान भइरहेको छ । तानसेन नगरपालिकाको अर्गेली र रामपुरमा नमुना मतदान गरिएको छ । मतदाता शिक्षाको अभावमा ‘बदर’ हुन सक्ने मतको संख्या न्युनीकरण गर्ने उद्देश्यले गरिएको नमुना मतदानबाट मतदातालाई मत कसरी खसाल्ने, सही ढंगले मत खसाल्ने तरिकाका विषय सिकाइएको छ । मतदानमा सहभागीले अपनाउनुपर्ने आचारसंहिता, मतदानस्थलमा प्रवेश गर्ने, बाहिर निस्कने, मतपत्रको संख्या, मतदानमा मतदान प्रक्रिया, सुरक्षा अवस्था, प्रत्यक्ष तथा समानुपातिक मतदान प्रक्रियाका बारेमा जानकारी गराइएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए । नमुना मतदानमा जेष्ठ नागरिक, महिला अशक्त व्यक्तिको सहभागिता रहेको थियो । रामपुरमा भएको नमुना मतदान अभ्यासमा ३० जनाले मतदान गरेका थिए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नमुना मतदान गर्दै आफुले सिकेको सीप अरुलाई मतदान गर्ने तरिका सिकाउन अनुरोध गरेका छन् । उनले अझैपनि अज्ञानताका कारण धेरै मत बदर हुने गरेकाले आफ्नो मताधिकार सुरक्षित गर्न नमुना मतदानमार्फत गाउँ टोलमा पुगेर एकले अर्कोलाई सिकाइयो भने बदर मत कम हुने बताए  । मतदाताको अवस्था हेरेर अन्य स्थानीय तहमा पनि नमुना मतदान कार्यक्रम राखिने निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँच प्रतिशत बढी मत बदर भएको थियो । गत १८ कात्तिक बाटै मतदाता शिक्षा कार्यक्रमसमेत सुरु भइसकेको छ । निर्वाचन आयोगले पाल्पाका ८१ वटै वडामा स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि खटाइसकेको छ । मतदाता शिक्षा कार्यकर्तामार्फत आयोगले मतदान गर्ने सही तरिका सिकाउने छ भने मत खेर जाने अवस्था विषयमा जानकारी दिने जनाएको छ । स्थानीय तहसँगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम १ मंसिरसम्म हुने छ । दुई प्रतिनिधि र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल १ सय १८ मतदान केन्द्र रहेका छन् भने २ सय ४६ मतदानस्थल रहेको छ । जहाँ २९ वटा मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशिल सूचिमा राखिएको छ । यस्तै ५० वटालाई संवेदनशील र ३९ वटालाई सामान्यमा राखिएको छ । यहाँ १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष गरी २ लाख १ हजार ३ सय २६ मतदाता रहेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update